२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

एमेच्योर राहुलले जिते सेन्ट्रल ओपन गल्फ उपाधि

एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा राहुलले बिहीबार प्रोफेसनल गल्फर तोरणविक्रम शाहीमाथि एक स्ट्रोकको अग्रतासहित करियरको पहिलो उपाधि जितेका हुन्। राहुलले कुल १२ अन्डर २७६ स्कोर बटुल्दै अघिल्लो दिनसम्म अग्रता लिएका तोरणविक्रमलाई पछि पारे। यससँगै उनले एमेच्योरतर्फको उपाधि पनि सुरक्षित गरे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यलाई पाँच स्ट्रोकले पछि पार्दै राहुलले एमेच्योरतर्फ उपाधि आफ्नो बनाएका हुन्। अन्तिम तथा फाइनल चरणमा राहुलले पाँच अन्डर ६७ को प्रदर्शन गरे। शीर्ष स्थानका तोरणविक्रमसँग चार स्ट्रोकले पछि रहँदै उनले अन्तिम दिनको सुरुआत गरेका थिए।

फ्रन्ट नाइनमा राहुलले चार अन्डर ३२ प्रदर्शन गरे। तर, तोरणविक्रम भने इभन पार ३६ खुम्चिए। ब्याक नाइनमा पनि राहुलले एक अन्डर ३५ मा खेले। यता, तोरणविक्रमले ब्याक नाइनमा पनि सोही प्रदर्शन दोर्‍याएपछि राहुलले ट्रफी सुरक्षित गरेका हुन्। तोरणविक्रमले इभन पार ७२ मा रहँदै अन्तिम दिनको खेल पूरा गरे।

राहुलले १६औं होलमा आएर तोरणविक्रमविरुद्ध अग्रता लिएका हुन्। यस होलमा राहुलले बर्डी प्रहार गरे र यसपछि अग्रता जारी राख्दै जित निकाले। राहुलले मुख्य र एमेच्योरतर्फको ट्रफी आफ्नो बनाए। तर, च्याम्पियन बापतको पुरस्कार भने तोरणविक्रमले प्राप्त गरे।

एमेच्योर गल्फर च्याम्पियन हुँदा मुख्य ट्रफी मात्र पाउँछन्। पुरस्कारमा भने प्रोफेसनल गल्फर नै हकदार हुन्छन्। त्यसैले दोस्रो स्थानमा रहे पनि प्रोफेसनल गल्फर तोरणविक्रमले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाए। तोरणविक्रम समग्रमा ११ अन्डर २७७ को कार्डमा रहे।

सद्भाव आचार्य एमेच्योरतर्फ दोस्रो र समग्रमा तेस्रो भए। विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र प्रोफेसनल गल्फर एसोसिएसन नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे। नीरज तामाङ र भुवन नगरकोटी प्रोफेसनलतर्फ संयुक्त रूपमा दोस्रो र समग्रमा चौथो स्थानमा रहे।

यी दुईले समान तीन अन्डर २८५ को स्कोर बटुले। दुवैले ८७ हजार पाँच सय नगद पुरस्कार पाए। सुनील केसी र जयराम श्रेष्ठ संयुक्त रूपमा छैटौं भए। यी दुई समान इभन पार २८८ मा रहे र समान ५८ हजार रूपैयाँ पुरस्कार पाए। एमेच्योर गल्फर गजेन्द्र गुरुङले पार–३ को १०औंं होलमा होल इन वान गरे। यसबापत उनले प्रोफेसनल गल्फर संघ नेपालबाट विशेष पुरस्कार पाए। कुल १२ ओभर ३०० को स्कोर कार्ड बटुल्दै उनी एमेच्योरमा तेस्रो भए। 

प्रकाशित: १४ मंसिर २०८१ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App