भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे।दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।
विपिनले क्रिकेट खेल्न थालेको चार वर्ष मात्रै भयो। सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विपिनका बुवा गोपालप्रसादको लुम्बिनी होटल छ। कक्षा आठमा पढ्दै गरेका विपिन होटलमा बुवा–आमालाई सघाउँदै फुर्सदको समय क्रिकेट सिक्न जान्थे। पछिल्लो पटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतबाट खेलेका उनी दुई पटक म्यान अफ दि म्याच भए। सेमिफाइनल र फाइनलमा सुर्खेतलाई जिताउन उनको बलिङ महत्त्वपूर्ण रह्यो।
‘अवसर पाएको खण्डमा राम्रो गरेर देखाउँछु भन्ने थियो, प्रदेशस्तरीय म्याचमा सोचे अनुसार नै आफ्नो प्रतिभा देखाउन पाएँ,’उनले भने, ‘अवसर पाए आगामी दिनमा पनि राम्रो गर्ने प्रयास गर्नेछु।’
उनै विपिन ट्यालेन्ट हन्टमार्फत छनोट भएर कर्णाली याक्स मार्फत नेपाल प्रिमियर लिग (एनपिएल) खेल्नका लागि छनोट भएका छन्। ट्यालेन्ट हन्टका लागि केही दिनअघि कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की खेलाडी सोमपाल कामीसहितको टिम कर्णालीमा आएको थियो। कर्णाली रङ्गशालामा भएको छनोट प्रतियोगितामा विपिनसहित ९३ खेलाडी सहभागी थिए। ‘ती मध्ये सुरुमा हामीले १५ जना छनोट गर् यौं, त्यसबाट पनि फेरि पाँच जना छनोट ग¥यौं,’ प्रमुख प्रशिक्षक मल्लले भने, ‘पाँच जनामा उत्कृष्टता र टिमको आवश्यकताका आधारमा विपिन छनोट भएका हुन्।’
उनले विपिनको टिममा प्रवेशसँगै कर्णाली याक्सको बलिङ लाइन थप मजबुत हुने बताए। ‘ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीहरू क्षमतावान् हुनुहुन्थ्यो,’ मुख्य प्रशिक्षक मल्लले भने, ‘त्यस मध्ये पनि कर्णालीको उत्कृष्ट प्रतिभालाई छनोट गर्न हामी सफल भएका छौँ।’ कर्णालीको टिमबाट फ्रेन्चाइजी लीग खेल्नका लागि छोरो छनोट भएपछि बुवा गोपालप्रसादको खुसीको सीमा छैन्। ‘हामीले गरेको लगानीले अहिले प्रतिफल दिएको छ, छोराको इच्छा पूरा भएको छ,’ मंगलबार एनपिल खेल्नका लागि छनोट भएको छोरालाई बिदाइ गर्दै उनले भने, ‘छोराले एनपिएलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा हामीले गरेका छौँ, त्यहीँ आर्सीवाद पनि दिएर पठाएका छौँ।’
ट्यालेन्ट हन्टमार्फत कर्णाली याक्सको १६ जनाभित्र परेपछि विपिनले आफूले कल्पना नगरेको ‘सफलता’ पाएको बताए। ‘टिभीमा देखिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरूसँग एउटै ट्रेसिङ रुम शेयर गर्न र मैदानमा खेल्न पाउँछु भन्ने कल्पना पनि गरेको थिइँन्,’ उनले भने, ‘कर्णाली याक्सले मप्रति देखाएको विश्वासलाई मैदानमा प्रमाणित गरेर देखाउने छु।’ विपिन भेरीगंगा नगरपालिकाको नेपाल राष्ट्रिय माविमा कक्षा आठमा अध्ययनरत छन्। उनी क्रिकेट र पढाइलाई सँगसँगै अघि बढाउने बताउँछन्।
प्रकाशित: ४ मंसिर २०८१ १९:१६ मंगलबार