१६ माघ २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाद्वारा पाकिस्तानमाथि ह्वाइटवास

मार्कस स्टोइनिसको अविजित अर्धशतकमा अस्ट्रेलियाले पाकिस्तानमाथि सात विकेटको जित निकाल्दै सोमबार तीन खेलको ट्वेन्टी–२० शृंखला ह्वाइटवास गरेको छ।

होबार्टमा ६१ रनमा अविजित रहेका स्टोइनिसले चम्किँदै पाँच छक्का प्रहार गरे। जहाँ ११८ रनको लक्ष्य अस्ट्रेलियाले १२औं ओभरमा नै पूरा गर्दै ट्वेन्टी–२० फरम्याटमा पाकिस्तानको अवस्था प्रस्ट्यायो। यसअघि पाहुना टोली पाकिस्तानले एकदिवसीय शृंखला २–१ ले आफ्नो पक्षमा पारे पनि छोटो फरम्याटमा सहजै शृंखला गुमायो।

अन्तिम तथा तेस्रो खेलमा ब्याटिङमा स्टोइनिस चम्कँदा अस्ट्रेलिया पूर्ण हाबी भयो। उनले २७ बलमा चार चौका पनि प्रहार गरे। ‘३–० ले शृंखला जित्नु सुखद पक्ष हो,’ अस्ट्रेलियाका कप्तान जस इङ्लिसले भने, ‘जब स्टोइनिस यो तरिकाले ब्याटिङ गर्छन्। उनलाई रोक्न कठिन नै हुने गर्छ। उनले प्रहार गरेका छक्का मैले देखेकामध्ये अहिलेसम्मकै लामो दूरीको थियो।’

यसअघि अस्ट्रेलियाले ब्रिसबेनमा वर्षाले प्रभावित पहिलो खेल २९ रन र सिड्नीको दोस्रो खेल १३ रनले जितेको थियो। तेस्रो खेलमा भने अस्ट्रेलियाले सहजै आफ्नो बनायो। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान एक समय ६२/१ को अवस्थामा थियो। तर, एकपछि अर्को विकेट गुमाउँदै पाकिस्तान १९औं ओभरमै ११७ रनमा अलआउट हुन पुग्यो। यस क्रममा बाबर आजमको ४१ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

अस्ट्रेलियाको बलिङमा आरोन हार्डीले तीन विकेट लिँदा ३१ रन खर्चिए। जबाफमा अस्ट्रेलियाका लागि ज्याक फ्रेसर म्याकगुर्कले साहिन शाह अफ्रिदीको बलमा लगातार बाउन्ड्री हिकाउँदै राम्रो सुरुआत दिलाए। तर, साहिनले त्यसअघि म्याट सर्टलाई २ रनमा नै पेभेलियनको बाटो देखाए। ज्याकले १८ रनको योगदान दिए।

२२ वर्षे जाहानदाद खानले ज्याकलाई आउट गर्दै अस्ट्रेलियाको दोस्रो विकेट पतन गराएका हुन्। त्यसपछि इङ्लिसले स्टोइनिसलाई साथ दिँदै अस्ट्रेलियाको इनिङ अगाडि बढाए। स्टोइनिस नवौं ओभरमा हरिस रउफमाथि पूर्ण हाबी भए। स्टोइनिसले यो ओभरमा २० रन बटुल्दा समान दुई चौका र छक्का प्रहार गरे।

इङ्लिस २७ रनमा अब्बास अफ्रिदीद्वारा आउट भए। यस क्रममा इङ्लिसले स्टोइनिससँग ५५ रनको साझेदारी गर्दै सहज जितको आधार बनाएका थिए। त्यसपछि टिम डेविडले स्टोइनिसलाई साथ दिए र अस्ट्रेलियाले सहज जित निकाल्यो।

‘शृंखला राम्रो भएन। तर, केही सकारात्मक पक्ष प्राप्त भएको छ। केही खेलाडीले बलिङ र ब्याटिङ राम्रो गरेका छन्। नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरे,’ पाकिस्तानका कप्तान सलमान अघाले भने। 

प्रकाशित: ४ मंसिर २०८१ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App