२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

बिना अध्ययन सिस्नेरीमा एन्फा एकेडेमी खोलियो: पूर्व फुटबलर उपेन्द्रमान सिंह

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययनबिना नै मकवानपुरको इन्द्र सरोवर–३ स्थित वत्सलादेवी माध्यमिक विद्यालयमा एन्फा एकेडेमी स्थापना गरिएको बताएका छन्।

सिस्नेरीमा गएको पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका ६ जना छात्रलाई श्रद्धाञ्जली दिन आयोजना गरिएको श्रद्धाञ्जली सभामा पूर्व फुटबलर सिंहले सो आरोप लगाएका हुन। पूर्व फुटबलर तथा गोलकिपर सिंहले एकेडेमी खोल्न सो ठाउँ उपर्युक्त छ की छैन भन्ने अध्ययन गर्नुपर्ने भए पनि त्यो काम एन्फाले नगरेको बताए। राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका  सिंहले नेपाली फुटबल अहिले राम्रो स्थितिमा समेत नरहेको प्रति चिन्ता व्यक्त गरे । नेपालका फुटबलर एक भएर विकास गर्नुपर्ने सिंहले औँल्याए।

होस्टेलमा बसेर मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो। एन्फाका पदाधिकारी, पूर्व फुटबलर र विद्यार्थीले दिवङ्गतहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। एन्फाले १४ वर्षमुनिका ४० विद्यार्थीलाई गत वर्षदेखि वत्सलादेवी मा.वि.सँगको सहकार्यमा एकेडेमी सञ्चालन गर्दै आएको छ। 

प्रकाशित: २६ कार्तिक २०८१ १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App