साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को फराकिलो अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललेसुरुवातदेखि नै श्रीलंकालाई दबाबमा राख्दै लगातार आक्रमण गर्यो। खेलको सातौं मिनेटमा सविता राना मगरले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
त्यसको चार मिनेटपछि सावित्रा भण्डारी सम्बाले दोस्रो गोल थपिन्। १३ औं मिनेटमा रेखा पौडेलले श्रीलंकाको पोस्टमा तेस्रो गोल थप्दै नेपाललाई ३-० को अवस्थामा पुर्याइन्। खेलको ३५ औं मिनेटमा साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले गोलको दिशा दिइन् र नेपाललाई ४-० को आरामदायी अग्रता दिलाइन्।
आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गर्दै सुरुवाती ११ मा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, अमिषा कार्की र अमृता जैसीलाई मौका दिएको छ।
यसअघि, भुटानले माल्दिभ्सलाई १३-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो।
श्रीलंकालाई ६ गोल गर्दै पाँच गोलको अन्तरले जित हात पारेमा नेपाल समूह ‘बी’को विजेता बन्नेछ। समूह ‘ए’बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगिसकेका छन्।
प्रकाशित: ८ कार्तिक २०८१ १८:१९ बिहीबार