६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल

लिगविहीन, महिला फुटबलको शून्यजस्तै गतिविधि र बिनातयारी साफ महिला च्याम्पियनसिपमा सहभागिता। यस्तै अवस्थाबाट माल्दिभ्स नेपालमा भएको साफ च्याम्पियनसिप खेल्न आएको राष्ट्र हो।

पछिल्ला दुई संस्करण नै माल्दिभ्सका लागि सुखद बन्न सकेको थिएन। सन् २०१९ को पाँचौं र सन् २०२२ को छैटौं संस्करणमा माल्दिभ्स गोलविहीन रहँदै घर फर्किनुपरेको थियो। पछिल्लो दुई संस्करणमा गरेर २७ गोल खाँदा माल्दिभ्सले एक गोल पनि गर्न सकेको थिएन। त्यसैले सम्भवतः माल्दिभ्सलाई यस सातौं संस्करणकै सबैभन्दा कमजोर टोली भन्दा फरक पर्ने छैन। त्यसमाथि पनि प्रतियोगिताअगाडि नै माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले महिला फुटबलको सीमित गतिविधि र स्रोतसाधानलगायत समस्याबारे उल्लेख गरेका थिए। उनी भन्थे, ‘माल्दिभ्समा महिला फुटबलको राम्रो गतिविधि नै छैन। प्राप्त सीमित अवसरबाट उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

तर, अहमदले भनेजस्तो तयारीबाट माल्दिभ्सको प्रदर्शन सुखद बन्न सकेन। साफमा माल्दिभ्सले गोल गर्न नसकेको खेलसंख्या सातौं पुगेको छ। यसै संस्करणको पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा नेपालसँग पनि माल्दिभ्स गोलविहीन बन्यो। श्रीलंकासँग गोलसंख्याको हिसाबमा माल्दिभ्सको प्रदर्शन सन्तोषजनक नै मान्न सकिन्छ। त्यो खेलमा माल्दिभ्सले श्रीलंकालाई १–० मा रोकेको थियो। हुन त श्रीलंका पनि प्रतियोगिताकै दोस्रो कमजोर राष्ट्रको रूपमा लिने गरिन्छ। श्रीलंकन टोलीले पनि तयारी राम्रो गरेको छैन । लामो समयदेखि महिला फुटबलको गतिविधि राम्रोसँग हुन नसकेको श्रीलंकाका प्रशिक्षक एमएच रुमीले नै प्रतियोगिताको पत्रकार सम्मेलनमा भनेका थिए।

त्यसैले समानस्तरको टोलीसँग माल्दिभ्सले रक्षात्मक रणनीति अपनाउँदा एक गोल मात्र बेहोर्‍यो। तर, समूह ‘बी’ को दोस्रो खेलमा नेपालविरुद्ध भने माल्दिभ्सको रणनीति उपयोगी साबित भएन। घरेलु टोलीसँग ११–० को फराकिलो हार सामना गर्नुपर्‍यो। तथापि, यो हारले माल्दिभ्सका प्रशिक्षक अहमदलाई पनि खासै दुखी बनाएको छैन। ‘महिला फुटबलमा गरेको लगानीअनुरूपको नतिजा हो यो। हारपछि बहाना गरेको होइन। नेपाल बलियो टोली हो। यस किसिमको टोलीविरुद्ध मेरा खेलाडीले सक्दो मिहिनेत गरे। तर, सकेनौं। नतिजाले धेरै दुखी भएको छैन,’ नेपालसँगको खेलपछि अहमदले भने।

यता, नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ पनि यस किसिमको नतिजाबाट धेरै उत्साहित हुनु नपर्ने बताउँछन्। माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘माल्दिभ्सको तयारी राम्रो थिएन। उनीहरूको लिग पनि हुँदैन। त्यसैले माल्दिभ्समाथि ११ गोल हुँदा उत्साहित छैनौं। हामीले अझ धेरै तयारी गर्नुपर्छ,’ उनले भने,‘गोल स्कोरभन्दा पनि आफ्नै शैली फुटबल खेल्ने लक्ष्य थियो। त्यसमा केही सफल पनि भयौं।’ उनले बलिया टोलीका गर्नुपर्ने तयारी पर्याप्त नभएको नेपाली प्रशिक्षक राजेन्द्रको भनाइ छ।

नेपालले पहिलो खेलमा भुटानसँग गोल गर्न सकेको थिएन। यो नतिजापछि नेपाली महिला टोलीले पहिलोपल्ट भुटानसँग अंक बाँड्नुपरेको थियो। त्यो नतिजा दोहोरिन नदिन तयारीलाई परिस्कृत गर्दै लैजानुपर्ने नेपाली टोलीका प्रशिक्षक राजेन्द्रले औंल्याएका हुन्। तथापि, माल्दिभ्ससँगको नतिजाले नेपाली खेलाडीको मनोबल बढ्नेमा भने दुईमत छैन। माल्दिभ्सका प्रशिक्षक अहमेदले नै यस किसिमको नतिजाले नेपाली खेलाडीको मनोबल बढ्ने उल्लेख गरे। उनले भनेजस्तै सोमबार नेपाली खेलाडी उत्साहित पनि देखिन्थे। माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा पौडेलले यो नतिजाले सबैमा उत्साह थपेको बताइन्। तथापि, उनले पनि यो प्रदर्शनबाट सन्तुष्ट हुन नहुने उल्ल्लेख गरिन्।

नेपाली खेलाडीले भुटानसँगको खेलभन्दा केही सुधारिएको प्रदर्शन गरेका थिए। उनीहरूमा टिम वर्क देखिन्थ्यो। त्यसैले यस किसिमको नतिजा आएको प्रशिक्षक बताउँछन्। व्यक्तिगत प्रदर्शन गरेको भए भुटानसँगकै नतिजा दोहोरिने उनको जिकिर थियो। नेपालका लागि रेखाको पाँच गोलसँगै प्रीति राईले पनि ह्याट्रिक पूरा गरिन्। सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल थपे। यो जितसँगै समूहविजेता बन्ने नेपालको लक्ष्य कायमै छ। उपाधि लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालको सुरूआत राम्रो हुन सकेको थिएन।

पहिलो खेलमा भुटानसँग गोल गर्न असफल हुँदा माल्दिभ्समाथि भने पूर्ण हाबी भयो। चार राष्ट्र रहेको समूह ‘बी’ मा समान दुई खेलबाट नेपाल र भुटानको समान चार अंक छ। यी दुई नै समूहविजेताको दाबेदार हुन्। दुवै विजेता बन्दै सेमिफाइनलमा पुग्न चाहन्छन्। भुटानले नेपालसँग जस्तै प्रदर्शन सोमबार पनि दोहोर्‍याउँदै यसपल्ट आफू बलियो टोली रहेको प्रमाणित गरेको छ। सोमबार नै भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो। यो हारपछि दुई खेलबाट श्रीलंकाको तीन अंक छ। लगातार दोस्रो हारसँगै माल्दिभ्सको यात्रा समूहचरणमै टुंगिने भएको छ। 

प्रकाशित: ६ कार्तिक २०८१ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App