२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

साफमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित, छैटौं खेलसम्म माल्दिभ्स गोलविहीन

तस्बिर : एन्फा

श्रीलंकाले शुक्रबार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह 'बी'को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० को जित निकालेको हो ।  

खेलमा श्रीलंकाले लगातार दबाब बनाएको थियो । पछिल्ला दुई संस्करणमा गोलविहीन माल्दिभ्सले श्रीलंकाविरूद्ध गोल गर्ने लक्ष्यमा थियो । साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससॅंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ ।

 खेलको आठौं मिनेटमा श्रीलंकाको गोल प्रयासमा बार बाधक भयो । सिभानेश्वरन थर्मिकाले माल्दिभ्सकी गोलकिपर अमिना लिजा अगाडि बढेको अवस्थामा खाली पोस्टमा गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । अमिनाले नै क्लियर गर्न नसकेको नियन्त्रणमा लिंदै थर्मिकाले गरेको प्रहार सफल हुन सकेन ।  

एकपछि अर्को आक्रमण बुनेको श्रीलंकाले १८औं मिनेटमा अग्रता लियो । कोश्वाथथागे परेरा दिएको क्रस बललाई इमिसा अनुराधिनीले हेडरमार्फत गोल गरिन् । सन् २०१९ मा विरानटनगरमा भएको साफपछि श्रीलंकाले पहिलो गोल गर्यो । काठमाडौंमा सम्पन्न पहिल्लो छैटौं संस्करणमा श्रीलंका गोलविहीन भएर घर फर्किएको थियो ।  

३३औं मिनेटमा श्रीलंकाको काउन्टर प्रयासमा माल्दिभ्सकी गोलकिपर अमिनाले उत्कृष्ट बचाउ गरिन् । श्रीलंकाकी इमिसाको लगातार दुई प्रहार असफल बनाएकी हुन् । ३६औं मिनेटमा थर्मिकाले पेनाल्टी बक्सबाहिर बाट गरेको सशक्त प्रहार पनि माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाइन् ।

 त्यसपछि पहिलो हाफमा केही प्रयास भए पनि गोल सम्भव भएन र श्रीलंकाले १-० को अग्रता बनायो । दोस्रो हाफ पनि श्रीलंकाले गोल प्रयास गरिरह्यो । ८७औं मिनेटमा इमिसाले  करिब ८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाउ गरिन् ।  

यो जितसॅंगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुल्यो । यसै समूहमा नेपालले आज साँझ ५ः३० बजे भुटानसॅंग खेल्दै छ ।

प्रकाशित: २ कार्तिक २०८१ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App