१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

महिला भलिबल लिग: ललितपुर र कर्णाली विजयी

तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।

पहिलोपल्ट सुरु भएको भलिबल फ्रेन्चाइज लिगमा सोमबार ललितपुर क्विन्ससँगै कर्णाली एसभिएसले पनि सुखद सुरुआत गरेको हो। ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्स र कर्णाली एसभिएसले मधेस युनाइटेडलाई समान ३–१ को सेटमा हराए। ६ फ्रेन्चाइज टोली सहभागी लिगमा काठमाडौं स्पाइकर्स र मधेस युनाइटेड दुवैले पुनरागमन गरे पनि जित निकाल्न भने सकेनन्। क्रिकेट र फुटबलपछि फ्रेन्चाइज लिग सुरु गर्ने भलिबल तेस्रो खेल हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकालेको हो। ललितपुर क्विन्सले लिगमा थाइल्यान्डका तीन खेलाडी अनुबन्धित गरेको थियो। थाइल्यान्डका आउटसाइड हिटरद्वय सुताड्ता चुएवुलिम र वारान्या स्रिलाओङ्ग तथा सेटर पत्राथिप सन्ट्राकुनको प्रदर्शन तारिफयोग्य रह्यो। यद्यपि, सुताड्ता तेस्रो सेटमा चोटका कारण बाहिरिइन्। महत्त्वपूर्ण विदेशी खेलाडीबिना पनि ललितपुर क्विन्स हाबी भयो।

यता, जगदीश भट्टको प्रशिक्षणमा रहेको काठमाडौंले भने टर्किएका आउटसाइड हिटरद्वय पेलिन एरोक्टा, फुल्डेन उरालका साथै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभालाई अनुबन्धित गरेको थियो। तर, विदेशी खेलाडीको प्रदर्शन प्रभावशाली रहेन। डिफेन्स र ब्लकमा पनि चुकेपछि काठमाडौं स्पाइकर्स हारबाट महिला भलिबल लिगको सुरुआत गर्न बाध्य भएको छ। काठमाडौंका खेलाडीबीच तालमेलको पनि अभाव देखियो। नेपाली टोलीकी सदस्य एवम् स्पाइकर उषा भण्डारी काठमाडौंकी कप्तान हुन्। उनले पनि पहिलो खेलमा प्रभाव जमाउन सकिनन्। यो हारसँगै पहिलो संस्करणको फ्रेन्चाइज लिगमा क्विन्सले तीन अंक बटुलेको छ। क्विन्सले पहिलो सेट २५–२० ले सहजै आफ्नो बनायो। दोस्रो सेटमार्फत्का ठमाडौंले पुनरागमन गर्ने संकेत गर्‍यो।

लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुर क्विन्सले दोस्रो सेटमा तालमेल गुमाउँदा काठमाडौं स्पाइकरले फाइदा लियो। रोमाञ्चक बनेको यो सेट काठमाडौं स्पाइकरले २५–२१ ले आफ्नो बनाउँदै बराबरीमा ल्यायो। तेस्रो सेटमा पनि काठमाडौं स्पाइकरले चुनौती दियो। यसै सेटमा थाइल्यान्डकी खेलाडी सुताड्ता घाइते हुन पुग्दा केही समय खेल रोकिन पुग्यो। तर पनि ललितपुर क्विन्सले लय गुमाएन। यो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो। ललितपुर क्विन्स चौथो सेटमा पनि काठमाडौं स्पाइकर्समाथि हाबी भयो।

यो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुर क्विन्सले पहिलो संस्करणमा सुखद सुरुआत गर्‍यो। ललितपुरले अट्याकबाट ३६ अंक, ब्लकबाट २५ अंक प्राप्त गर्‍यो। काठमाडौं स्पाइकर्सले भने अट्याकबाट २३ अंक र ब्लकबाट १८ अंक जोड्यो। सर्भिसमा काठमाडौंले धेरै अंक बटुल्यो। काठमाडौंले १८ अंक र ललितपुरले १५ अंक सर्भिसबाट प्राप्त गरे। सोमबार नै भएको दोस्रो खेलमा जितको संघारमा पुगिसकेको कर्णालीले तेस्रो सेट गुमाउँदा खेल लम्बिन पुग्यो। पहिलो दुई सेट कर्णालीले सहजै २५–१५ र २५–२० ले सहजै आफ्नो बनाएको थियो।

तेस्रो सेटमा पनि कर्णााली २४–१९ को अग्रतासँगै सेट पोइन्ट थियो। यद्यपि, कर्णाली एसभिसले लगातार गल्ती गर्‍यो। त्यसको फाइदा लिँदै निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस युनाइटेडले लगातार पाँच अंक बटुल्दै २४–२४ को अवस्थामा ल्यायो। त्यससँगै मिडल ब्लकर सुमित्रा रेग्मीको कर्णाली दबाबमा पर्‍यो। अन्ततः मधेसले उक्त सेट २८–२६ ले आफ्नो बनाउँदै खेल जीवन्त राख्यो। तर, चौथो सेटमा मधेस युनाइटेडले लय जारी राख्न सकेन। यो सेट कर्णालीले २५–११ ले एकपक्षीय रूपमा आफ्नो बनाउँदै खेल ३–१ ले जित्यो।

कर्णालीमा अमेरिकाकी सेटर गाब्रिएल बेन्डा, अपोजिट हिटर ग्रिसकी अथानासिया र आउट साइड हिटर टर्किएकी जेनेप ओटुरान गरी तीन विदेश खेलाडी छन्। यता, मधेसले पनि सेटरमा भारतीय टोलीकी कप्तान जिनी कोभातलाई उतारेको छ।

मिडल ब्लरकमा ट्युनिसियाकी योस्रो जेरामदिनी र आउट साइड हिटरमा काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्धित गरेको छ। यी तीनैले राम्रो प्रदर्शन गरे पनि मधेस युनाइटेडले जित निकाल्न भने सकेन। प्रत्येक फ्रेन्चाइज टोलीले एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्टबाट र १२ स्वदेशी गरी कुल १७ खेलाडी अनुबन्धित गरेका छन्।

सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन्। लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। सबैले एकआपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन्। 

प्रकाशित: १५ आश्विन २०८१ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App