४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विदेशी खेलाडीको भरमा उडान भरिरहेको वालिङ

एन्फा महिला लिगमा दुई ह्याट्रिक गर्ने खेलाडी एक जना मात्रै छन्। ती हुन्, विदेशी खेलाडी ज्याकलिन नसाली। वालिङ नगरपालिकाले बिहीबार बागमती युथ क्लबविरुद्ध ४–० को सहज जित निकाल्दा युगान्डाकी फरवार्ड ज्याकलिनले यो उपलब्धि हासिल गरेकी हुन्। पाँच दिनको तयारी गरेर लिग खेल्न आइपुगेको वालिङले कोसी प्रदेशसँग यही नतिजामा हार बेहोर्दै लिगको सुरुआत गरेको थियो। यस्तोमा मुख्य प्रशिक्षक दिलीप थापालाई प्रश्न थियो, ‘यो टोलीले शीर्ष पाँचको लक्ष्य भेटाउला ?’ उनी भन्दै थिए, ‘फिनिसिङमा समस्या देखिएको छ। विदेशी खेलाडी आएपछि कमब्याक गर्छौं।’

लिगको छैटौं चरण पूरा हुँदा उनले भनेजस्तै भइरहेको छ। चार विदेशी खेलाडीको साथमा लिगको उडान भरिरहेको वालिङ अब तीन खेल बाँकी हुँदा ६ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लिन सफल भएको छ। दिलीप गर्वसाथ सुनाउँछन्, ‘शीर्ष पाँचमै पर्छौं भनेर आएका हौं। तर, दुई खेल गुमायौं। त्यसैले बागमतीसँगको खेल जित्नु महत्त्वपूर्ण छ।’ वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।

यी विदेशी खेलाडीले कहाँ छाप छाडेका छैनन् ? फातुमाको डिफेन्स उत्तिकै उत्कृष्ट छ। डिफेन्डर भायोलाले पूरै मैदान नै कभर गर्छिन्। सिसीले मिडफिल्ड र ज्याकलिनले आक्रमण लाइनमा उत्कृष्ट प्रदर्शन गरेकी छन्। जारी लिगका ६ खेल सकिँदा भायोलाले तीन गोल गर्दा सिसीले दुई र ज्याकलिनले सात गोल पूरा गरिसकेकी छन्। भायोला त ६ मध्ये तीन खेलमा ‘प्लेयर अफ द म्याच’ नै हुन्। सानदार लयमा देखिएकी उनी लिगमा सर्वाधिक ‘प्लेयर अफ द म्याच’ हात पार्ने खेलाडी हुन्। अन्य खेलाडीले यो उपलब्धि एक पल्ट मात्रै हात परेका छन्। यता, डेब्युमै कर्णाली प्रदेशमाथि ह्याट्रिक गरेकी ज्याकलिन पनि कम छैनन्।

उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षमा छिन्। एपिएफ तथा कोसीसँग भएको हारबाहेक अन्यमा शतप्रतिशत जित निकालेको वालिङका लागि यी तीन विदेशी खेलाडीले मात्र १२ गोलको योगदान दिएका छन्। यो सूचीमा वालिङका नेपाली खेलाडी भने निकै पछि छन्। अहिलेसम्म विंगर सुस्मा तामाङ र सुक्रिया मियाले मात्रै वालिङका लागि समान एक गोल गरेका छन्। ‘सुक्रिया राम्रो खेलाडी हुन्। तर, केही खेलमा अनुपस्थित भइन्। उनको स्थानमा सुस्मालाई प्रयोग गरेका थियौं। भायोलालाई पनि अवस्था हेरेर डिफेन्सबाट अट्याकिङमा प्रयोग गरिरहेका छौं। उनले निराश पारेकी छैनन्,’ दिलीप सुनाउँछन्।

बिहीबारको नतिजासँगै वालिङ एक कदम अगाडि बढेको छ। अब वालिङले दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबसँगै चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। पुलिसको १२ अंक छ भने आर्मीसँग १३ र चन्द्रपुरसँग सात अंक मात्रै छ। शनिबार पुलिससँगको नतिजाले वालिङलाई कहाँ पुर्‍याउँछ त्यो हेर्नलायक हुनेछ। किनभने बामगतीले शीर्ष पाँचको दौडबाट आफू बाहिरिसकेको भन्दै हात उठाउँदा कोसी प्रदेश, चन्द्रपुर र संकटा फुटबल क्लब पनि यही स्थान भेटाउन संघर्ष गर्नेछन्।

‘शीर्ष पाँचमा पर्ने लक्ष्य थियो। तर, हाम्रा विदेशी खेलाडीले सोचेजस्तो खेल्न सकेनन्। हामीभन्दा अगाडि वालिङ, कोसी र चन्द्रपुर छन्। त्यसैले तीन वटा खेल जिते पनि सम्भावना रहँदैन,’बागमतीका सहायक प्रशिक्षक सोनम लामा बताउँछन्। अहिले बागमती चार अंकसहित आठौं स्थानमा छ। कोसीको ९ अंक र संकटाको पाँच अंक छ। शुक्रबार आर्मी र चन्द्रपुर भिड्दा कोसीले एपिएफको चुनौती पन्छाउने प्रयास गर्नेछ। यही दुई खेलको नतिजाले पनि शीर्ष पाँचभन्दा बाहिर रहेका तीन टोलीको आगामी यात्रा निर्धारण गर्नेछ।

एपिएफले शीर्ष पाँचमा स्थान बनाइसक्दा आर्मी पनि आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। बागमतीले अब तीन अंक जोडेको कर्णालीसँगै संकटा र एपिएफसँग खेल्नेछ। यीमध्ये दुई खेलमा लक्ष्यअनुसार नै जित हात पारे पनि १० अंकसहित बागमती सर्लाही फर्किनेछ र अर्को वर्ष पुनः लिग छनोटमा सहभागिता जनाउनेछ। जुन छनोट बागमतीले यसपल्ट खेल्नै परेको थिएन।

प्रकाशित: ४ आश्विन २०८१ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App