३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एथलेटिक्सबाट कबड्डीमा उत्कृष्ट

एनएसजेएफ स्पोर्ट्स अवार्ड

एसियाली खेलकुदमा कांस्य पदकका साथ मानमती विष्ट। फाइल तस्बिर

‘कबड्डी मेरो पहिलो प्रेम हो। अहिले जहाँ छु। जे छु, त्यो सबै कबड्डीले नै दिएको हो। यो खेल मेरा लागि सबथोक हो,’ एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली टोलीकी सदस्य मानमती विष्ट भन्छिन्।

गत वर्ष चीनको हाङझाउमा सम्पन्न एसियाली खेलकुदमा नेपालले एउटा कांस्य पदक पनि जितेको थियो। त्यो पदक प्राप्त भएको हो, महिला कबड्डीबाट।

हाङझाउमा यी नेपाली चेलीले नै पदकको खाता खोलेको थिए। पछि करातेका एरिका गुरुङले रजत पदक जित्दा कबड्डीको सफलता केही छायामा पर्‍यो। यद्यपि, सन् २००६ को एसियाली खेलकुदपछि दुई अंकको पदक जित्दै नेपाली खेलकुद उत्साहपूर्ण बनाउन नेपाली महिला कबड्डी टोलीको योगदान सराहनीय छ। यो सफलताका महत्त्वपूर्ण खेलाडीमध्ये एक हुन् मानमती।

उनै मानमती त्यति बेला साह्रै खुसी हुनेछिन्, जति बेला नेपालमा यो खेल अझ विकास र विस्तार हुनेछ। यो हो नि कोही खेलाडीको खेलप्रतिको लगाव र समर्पण। मानमती विष्टसँग उनको खेलजीवनबारे कुरा गर्नुपर्छ, उनी त्यसको सुरुआत यसरी गर्छिन्, ‘हाम्रो कबड्डी।’

महिला टोलीको सफलता पछि ‘मानमतीको कबड्डी’ को लोकप्रियता झनै बढेको छ। आफ्नो खेलको लोकप्रियता बढिरहेको देख्दा मानमतीलाई धेरै गर्वको अनुभूति हुने गर्दछ। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले पहिलोपल्ट ऐतिहासिक सफलता प्राप्त गर्दा एक प्रमुख सदस्य हुन्, मानमती।

नेपाली कबड्डीको त्यो ऐतिहासिक यात्रामा ३० वर्षीया मानमतीको योगदान गज्जब रह्यो। उनले रेड र डिफेन्स दुवैमा आफूलाई उत्कृष्ट साबित गरिन्। जति बेला नेपालले कांस्य पदक जित्ने निश्चित भएको थियो, खुबै भावनात्मक हुँदै उनले भनेकी थिइन्, ‘यो जत्तिको खुसी अरू कुनै हुनै सक्दैन।’

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा अर्को साता हुँदै छ, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड। त्यसमा मनोनयनमा पर्ने पाँच खेलाडीमध्ये एक हुन्, यिनै मानमती। ‘जति बेला मैले आफू यस अवार्डको मनोनयनमा परेको सुनें, खुसी त हुने भयो नै, आश्चर्यमा पनि परेँ। ठीक त्यही बेला लाग्यो, यसै क्रममा नेपाली कबड्डीबारे अलिकति भएपनि चर्चा हुनेछ, यो खेललाई मन पराउनेहरू बढ्नेछन्, कम्तीमा यो खेलमा केही न केही रुचि त उत्पन्न हुनेछ। मैले चाहेको पनि यही हो।’

त्यसो त नेपालमा कबड्डीको इतिहास लामै छ। कुनै समय यसलाई नेपालको राष्ट्रिय खेल पनि भनिन्थ्यो। तर यसले जति लोकप्रियता कमाउनुपर्ने हो, त्यो सकेन, भलै यो नेपाली माटो सुहाउँदो खेल पनि भनिन्थ्यो।

गत वर्ष यो खेलले आफ्नो इतिहासमै सबैभन्दा ठूलो सफलता चुम्यो, एसियाली खेलकुदमा। त्यसकै एक साक्षी मानमतीलाई लाग्छ, अबको समय नेपाली कबड्डीमा अझ राम्रो हुनेछ। यो खेल चर्चामा रहनेछ। अनि उनी अझ खुसी हुनेछिन्। जति पनि उनको नजिक छन्, धेरैले उनलाई मायाले बोलाउने गर्छ, ‘मानु’ भनेर। यिनै मानुको खेलजीवन पनि लामै छ। सुरुमा उनी एथलेटिक्सकी खेलाडी थिइन्।

यही खेलको प्रतिनिधित्व गरेर १२औं दक्षिण एसियाली खेलकुदमा सहभागिता पनि जनाइन्। राष्ट्रिय खेलकुदमै उनले आठ समय मिटर दौडमा स्वर्ण पनि जितेकी छिन्।

यसबीच पनि कबड्डी उनको पहिलो रोजाइ रह्यो, सात आठ वर्षदेखि यही खेलमा व्यस्त छिन्, यसै क्रममा यही खेलबाट उनले १३औं दक्षिण एसियाली खेलकुदमा रजत पदक हात पारिन्। कञ्चनपुर भीमदत्त नगरपालिकामा जन्मे हुर्केकी मानमतीले नेपालको त्यो रजत पदक निश्चित गर्न उच्च खेल प्रदर्शन गरेकी थिइन्।

श्रीलंकाविरुद्ध उनले खेलको अन्त्यतिर निणायक अंक जोडेकी थिइन् र यसैले नेपालले कम्तीमा रजत पदक जित्ने निश्चित भएको थियो। घरेलु कबड्डीमा भने पुलिसका लागि खेल्छिन्। यस क्रममा उनको टिम अनेक प्रतियोगितामा पहिलो भएको छ। अनि त्यसमध्ये अनेक प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन्।

आफ्नो यस खेल यात्रामा उनी आफ्नो परिवार र साथी खेलाडी तथा प्रशिक्षक जतिप्रति कृतज्ञ त छिन् नै, पुलिसको योगदानलाई पनि कहिल्यै बिर्सन सक्दिनन्। भन्छिन्, ‘पुलिसकै खेलाडी भएर त म यहाँसम्म पुगें। पुलिसको गुण पनि बिर्सन सकिन्न।’

जहाँसम्म पिपल्स चोइस अवार्डको विजेताको चयन छ, त्यो भोटिङबाट हुने गर्छ। त्यसमध्ये ५० प्रतिशत मतभार ई–सेवाबाट हुने भोटिङको हुनेछ। सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत हुनेछ। अनि बाँकी मञ्चसँग आबद्ध खेल पत्रकार तथा नेपाल ओलम्पिक कमिटीसँग आबद्ध संघका प्रमुख प्रशिक्षकको मत हुनेछ।

यही त समय हो, मानमतीलाई सक्दो मत दिने। यसका लागि तपाईले ई–सेवामा जानुपर्नेछ र मानमतीलाई आफूले चाहे जति मत दिन सक्नुहुन्छ। सँगै मञ्च र अवार्डको आधिकारिक फेसबुक पेज छँदै छ। तपाई कबड्डी खेलको प्रशंसक हो भने यही त समय हो, मानमतीलाई यो अवार्ड जित्न सहयोग गर्ने समय। उनको त एउटै भनाइ मात्र छ, ‘कबड्डीलाई माया गरिरहनु होला।’  

प्रकाशित: २१ भाद्र २०८१ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App