२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो: राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काभा महिला भलिबल लिगमा रजत पदक विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले दीर्घकालीन रूपमा हुने कभर्डहल र नेशनल ट्रेनिङ सेन्टर स्थापनाका लागि प्रक्रिया अगाडि बढेको बताएका हुन । उनले नेसनल ट्रेनिङ सेन्टरका लागि यसै वर्ष बजेट विनियोजन भइसकेको र छिट्टै निर्माण कार्य आरम्भ हुने विश्वास व्यक्त गरे । साता दोबाटोमा पनि फिटनेस सेन्टर बनाउने कार्यका लागि खरिद प्रक्रिया पनि अगाडि बढेको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

उनले खेलकुदलाई विज्ञानसँग जोडेर स्पोर्ट्स साइन्स ल्याबको कार्य योजना अघि बढाइएको र यसको एकीकृत कार्य योजनाको बिचबाट अर्को पटक काभामा महिला भलिबलमा च्याम्पियन बन्ने लक्ष्य राख्ने धारणा राखे। राखेप सदस्यसचिव घिसिङ अब खेलाडीले प्राप्त गर्ने पुरस्कारसम्बन्धी ठोस कानुन नै बनेको र यसले गर्दा खेलाडीले समयमा पुरस्कार प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे । खेलकुद विकास नियमावली पास भएपछि अहिले धेरै खेलाडीले समयमा नै पुरस्कार पाउन थालेको सदस्यसचिव घिसिङले बताए।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले सातै वटै प्रदेशमा प्रादेशिक कभर्डहल र केन्द्रमा पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माणका लागि सङ्घले पहल गरिरहेको बताए । सोहीअनुरूपमा राखेपले पनि भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय समिति पनि गठन भैसकेको संघका महासचिव श्रेष्ठले बताए ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै यो सम्मानले आगामी दिन अझै राम्रो गर्ने जिम्मेवारी प्राप्त भएको बताइन। उनले देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन आफ्नो टोलीले थप मेहनत गर्ने समेत उल्लेख गरिन ।

बिहीबार सरकाले गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई सम्मान गरेको थियो । टोलीका हरेक खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख र सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको हो । 

प्रकाशित: १३ भाद्र २०८१ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App