बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको छ। योसँगै २ खेलको सिरिजमा बंगलादेश १-० ले अघि रहेको छ।
बंगलादेशले पाकिस्तानलाई उसैको भूमिमा १० विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो। बंगलादेशले यसअघि पाकिस्तानलाई कुनै पनि टेस्ट म्याचमा हराउन सकेको थिएन।
यसअघिका १३ भिडन्तमा पाकिस्तान १२ मा विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो। रावलपिन्डीमा पाकिस्तानले दिएको ३० रनको सामान्य लक्ष्य बंगालादेशले बिना क्षति पूरा गर्यो।
एक विकेटको क्षतिमा २३ रनबाट आइतबार पाँचौ दिनको खेल थालेको घरेलु टोली १४६ रनमा अलआउट भएपछि बंगलादेशले ३० रनको झिनो लक्ष्य पाएको थियो।
पहिलो इनिङ्समा ४४८ रन बनाएको पाकिस्तानका लागि दोस्रो इनिङ्समा भने मोहम्मद रिजवानले ५१ र अब्दुल्लाह सफिकले ३७ रन बनाए।
पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा मेहन्दी हसन मिराजले ४ र सकिब अल हसनले ३ विकेट लिए। बंगलादेशले भने पहिलो इनिङ्समा ५६५ रन बनाएको थियो। उसका लागि मुस्फिकर रहिमले १९१ रन बनाएका थिए।
दुई टोलीबीचको दोस्रो टेस्ट अगस्ट ३० मा सुरु हुनेछ।
प्रकाशित: ९ भाद्र २०८१ १८:३९ आइतबार





