२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, कमजोर ब्याटिङ सुधारको खाँचो

एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टीमसँग हुने आजको दोस्रो अभ्यास खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।

बिर्सनलायक ब्याटिङ गरेपछि मङ्गलवार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको थियो।

जुलाई १९ देखि सुरु हुने एसिसी महिला एसिया कपमा सहभागिता जनाउन एक महिनाभन्दा लामो प्रशिक्षण गरेर श्रीलंका पुगेको टोलीले कमजोर ब्याटिङलाई निरन्तरता दिएको हो।

सरी भिलेज क्रिकेट स्टेडियममा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलङ्का महिला डेभलपमेन्ट टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११८ रनमै समेटिएको थियो। वर्षाले खेललाई प्रभावित गरेपछि नेपालले १५ ओभरमा ९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर, उक्त लक्ष्य पछ्याएको नेपालले १५ ओभर खेल्दै नौ विकेट गुमाएर ६६ रन मात्रै बनाउन सक्यो।

नेपालका रुबिना क्षेत्री, सीता रानामगर र बिन्दु रावलले मात्रै दोहोरो अङ्कमा रन बटुल्न सके। चौथो नम्बरमा क्रिजमा आएकी रुबिनाले १७ बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाइन् भने सीता २८ बल खेल्दै एक चौकासहित ११ रन बनाउँदै आउट भइन्।

बिन्दु भने १० रनमा अविजित रहिन्। ओपनर सम्झना खड्का चार, कप्तान इन्दु बर्मा एक, कविता कुँवर ६ र ममता चौधरी एक रनमा आउट हुँदा पूजा महतो, कविता जैसी, काजल श्रेष्ठले खाता पनि खेल्न सकेनन्। श्रीलङ्का डेभलपमेन्टकी देवमी विहांगाले तीन र सेहानीले दुई विकेट लिए ।

त्यसअघि श्रीलङ्कालाई मजबुत बनाउन मुथ्यांगना र दुलानीले उत्कृष्ट प्रदर्शन गरेका थिए । ४१ बल खेलेकी दुलानीले तीन चौकासहित सर्वाधिक २७ रन बनाइन्। ओपनर मुथ्याङ्गनाले भने १४ बलमै चार चौकासहित २६ रन बनाइन् । दुवै ब्याटर रनआउट भएका थिए। यद्यपि, सन्दीपानी र करुणार्थनेले १६÷१६, हसिनी परेराले १२ तथा वात्सालाले अविजित रहँदै १२ रन बनाएका थिए।  

नेपालकी सवनम राईले सर्वाधिक तीन विकेट लिइन् भने सीता रानामगर र राजमती ऐरीको नाममा समान एक विकेट रह्यो। नेपालले एसिसी एसिया कपअघि तयारीस्वरूप तीन अभ्यास खेल खेलिरहेको छ।

नेपालले आफ्नो ब्याटिङ्ग क्रम सुधारेन भने प्रमुख म्याचमा निकै कठिन हुनेछ।

प्रकाशित: २६ असार २०८१ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App