१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

फाइनल नै नखेली संयुक्त विजेता

गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा नेपाल नम्बर वान प्रदीप खड्का र नेहाल जंगबहादुर थापा संयुक्त विजेता भएका छन्। शनिबार दिनभरि पोखरामा वर्षा भएपछि फाइनल नै नखेली उनीहरूलाई विजेता घोषणा गरिएको हो।

आयोजक प्रदेश खेलकुद परिषद् गण्डकीले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीलाई विजेता घोषणा गरेको बताएको छ। गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले भने, ‘हामी बिहान ७ बजेबाट नै तयार भएर बसेका थियौं। तर, वर्षाले खेल प्रभावित हुन पुग्यो। अन्ततः हामीले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार दुवैलाई विजेता मान्दै पुरस्कृत गरेका हौं।’

विजेता बनेका दुवै खेलाडीलाई जनही २२ हजार पाँच सय रूपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, पुरुष सिंगल्सतर्फ शाश्वत वज्राचार्य र अनिल साई तेस्रो भए। उनीहरूले जनही तीन हजार सात सय ५० रूपैयाँ हात पारे । महिला सिंगल्सतर्फ प्रीति बराल पहिलो भइन्। उनले १५ हजार रूपैयाँ प्राप्त गरिन् ।

त्यस्तै, आरुषी शेरचन दोस्रो, आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो भए। आरुषीले सात हजार पाँच सय र आहना र ग्रिष्माले जनही तीन हजार सात सय ५० रूपैयाँ हात पारे।

पुरुष डबल्सतर्फ प्रदीप खड्का र अनिल साईको जोडी पहिलो भयो । उनीहरूले निहाल जंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदीप र अनिलको जोडीले २० हजार र उपविजेता बनेको निहाल र दर्शिलले १० हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ १६ गरी २४ खेलाडीको सहभागिता रहेको थियो।

प्रकाशित: २३ असार २०८१ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App