१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ । 

सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई शनिबार बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने धारणा राखे । उनले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलहरूमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिए । 

 कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताए । 

महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भए पनि प्राथमिकतामा राख्न सबै चुकको बताए । अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको धारणा राखे । उनले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गरे। उनले महिला क्रिकेटलाई धेरै दबाब नरहेको भए पनि अवसरका रुपमा लिएर उत्कृष्ट नतिजा निकाल्न आग्रह गरे।

कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिवद्धता जनाइन। उनले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताइन।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी २० विश्वकपमा राम्रो नतिजा पस्किएको बताए ।उनले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गए पनि सम्भव नभएको बताए।

कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरुले कुनैपनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताए । यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने धारणा राखे । उनले कुनैपनि सपना पूरा गर्नु पूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठुलो कुरा भएको बताए । उनले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न महिला टिमलाई  सुझाव दिए।

एसिसी महिला एसिया कप प्रतियोगिताको  समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: २२ असार २०८१ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App