१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

श्रीलंकासँग भिड्दै नेपालः सुपर ८ मा पुग्ने सम्भावना जिवितै राख्ने नेपालको लक्ष्य

नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।

खराब लयबाट गुज्रिरहेको श्रीलंका नेपालका लागि अमेरिकाको फ्लोरिडामा सहज प्रतिद्वन्द्वी भने हुने छैन। समूह ‘डी’ का प्रतिद्वन्द्वी श्रीलंकाको तेस्रो खेल हो भने नेपालले दोस्रो खेल खेल्दै छ।

फ्लोरिडाको फर्ट लउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने यो खेलमा श्रीलंका धेरै दबाबमा हुने छ। नेपाल र श्रीलंकाबीचको खेल स्थानीय समयअनुसार साँझ ७ः३० बजेबाट सुरु हुनेछ भने नेपाली समय अनुसार बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।

सुपर आठको यात्रा तय गर्न वानिदु हसरंगाको कप्तानीमा रहेको श्रीलंकासँग जितको विकल्प हुनेछैन। टेस्ट टोली श्रीलंका र नेपाल पहिलोपटक एक आपासमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

विश्वकपमा खराब सुरुआत गरेको नेपाल र श्रीलंका पहिलो जितको खोजीमा रहने छन्। दोस्रो चरणमा पुग्न बाँकी तीनै खेल आफ्नो पक्षमा पार्दा पनि श्रीलंकाका लागि पर्याप्त हुने छैन।

श्रीलंकाले आगामी यात्रा कायम राख्न अन्य टोलीको नतिजा भर पर्नुपर्नेछ। साथै फराकिलो अन्तरको जित श्रीलंकाका लागि आवश्यक हुनेछ। त्यसैले पनि नेपालविरुद्ध श्रीलंका नेट रनरेट सुधार गर्ने लक्ष्यसँगै दबाबमा हुनेमा दुईमत छैन।

आयोजक अमेरिकाका फरकफरक तीन मैदानमा गरेर मंगलबारसम्म १० खेल सम्पन्न भैसकेका छन्। तर, तीमध्ये अमेरिका र क्यानडाबीचको खेलबाहेक अन्यमा राम्रो रन बन्न सकेन।

बाँकी ९ खेलमा भने ब्याटिङ निकै संघर्ष गर्नु परेको छ। १२० रनभन्दा कमको लक्ष्य पनि भेट्याउन कठिन भएको छ। त्यस कारण पनि अमेरिकामा जारी विश्वकपमा पिचको विषयलाई लिएर आलोचना भैरहेको छ।

नेपालसँगकै खेलअगाडि पत्रकार सम्मेलनमा श्रीलंकाका बलिङ प्रशिक्षक अकिब जाबेदले पिचको विषयलाई लिएर आलोचना गरे।

‘यहाँको पिच अनुमान गर्न सकिने खालकै छैन। सबैभन्दा पहिले नै यो खराब पिचको सामना हामीले ग¥यौं। अहिले सबै टोलीले पनि थाहा पाइसकेका छन्। सानै योगफल पछ्याउँदा पनि जित्नका लागि योग्य हुन्छन् भन्ने अनुमान गर्न सकिने अवस्था छैन,’प्रशिक्षक जाबेदले भने, ‘यहाँका पिचले नर्मल व्यवहार नै देखिँदैन।’

श्रीलंका सन् २०१४ को ट्वान्टी–२० विश्वकप च्याम्पियन टोली हो। नेपालले यसै विश्वकपमार्पmत आइसिसीको यति ठूलो प्रतिस्पर्धामा डेब्यु गरेको थियो। १० वर्षपछि नेपालले दोस्रो पटक विश्वकप खेलिरहँदा भने श्रीलंकाको प्रदर्शन बिर्सनलायक छैन। टेस्ट राष्ट्र श्रीलंका समूहचरणबाटै घर फर्किने संघारमा छ। यो समूहका पाँच टोलीमध्ये दक्षिण अफ्रिका तीन खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। यसै समूहमा बंगलादेश र अर्को एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले समान दुई खेलबाट एक खेलको नतिजा आफ्नो पक्षमा पारेका छन्।

श्रीलंका र नेपालले भने जितको स्वाद चाख्न पाएका छैनन्। दुवै टोली आगामी चरणको यात्रा कायम राख्न स्वाभाविक प्रदर्शन सुधार गर्न चाहन्छन्। नेपालका कप्तान रोहितकुमार पौडेल बुधबार श्रीलंकालाई हराउँदै नयाँ इतिहास राख्ने विश्वास व्यक्त गर्छन्। ‘२० वटै टोली उतिकै बलिया र सन्तुलित छन्। कतिपय अप्रत्यासित नतिजाले हामीलाई पनि उत्प्रेरणा दिएको छ। श्रीलंकासँग हामी पनि सोही किसिमको नतिजा ल्याउँदै इतिहास बनाउन चाहन्छौं,’कप्तान रोहितले भने, ‘जसरी पछिल्ला ढेड महिनादेखि हाम्रो तयारी छ। त्यसअनुरूप मलाई मेरो टोलीप्रति पूर्ण विश्वास छ।’

रोहितले भने जस्तै यस विश्वकपमा केही अप्रत्यासित नतिजा आएका छन्। पाकिस्तान अमेरिकासँग र श्रीलंका बंगलादेशसँग पराजित हुनु जस्ता नतिजा निस्किए। यी नतिजाबाट नेपालमा पनि ठूलो टोलीलाई हामी पनि हराउन सक्छौं भन्ने आत्मबल पलाएको हुन सक्छ। तर, नेपालभन्दा तुलनात्मक रूपमा श्रीलंका बलियो छ। तर, उसको पछिल्लो प्रदर्शन भने सुखद छैन।

नेपालका कप्तान रोहितले नेपाली क्रिकेटका महŒवपूर्ण बलर सन्दीप लामिछानेको आगमनले टोलीको मनोबल बढेको समेत उल्लेख गरेका छन्।

‘सन्दीप दाईको क्षमताबारे सबैलाई थाहा छ। वेस्ट इन्डिजको पिचमा उहाँको बलिङमा पनि विशेष छ। यसलाई हामीलाई फाइदा पुग्नेछ। टोलीमा समेत मनोबल बढेको छ,’रोहितले भनेका छन्। श्रीलंकाले बलिङ र ब्याटिङ दुवैमा संघर्ष गरिरहेको छ। पछिल्ला चार खेलका नतिजा पनि श्रीलंकाले सुम्पिएको छ। विश्वकपअगाडि अभ्यासमा नै यसै समूहको नेदरल्यान्ड्सले श्रीलंकालाई हराएको थियो। त्यो नतिजाले साना टोलीको आत्मबल बढेको थियो। जुन शृंखला अभैm रोकिएको छैन।

श्रीलंका विश्वकपका सुरुका दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग निरास हुन पुगेको थियो। यस क्रममा दक्षिण अफ्रिकासँग श्रीलंका ७७ रनमै अलआउट भएको थियो। ट्वान्टी–२० मा श्रीलंकाका लागि अहिलेसम्मकै खराब हो। यता, नेपालले भने तीव्र गतिको बलिङमा निकै संघर्ष गरिरहेको छ। नेपालको ओपनिङ पनि राम्रो हुन सकिरहेको छैन। नेदरल्यान्ड्ससँगको पहिलो खेल गुमाउँदा पनि नेपालका ओपनर कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिन सकेनन्। बुधवार श्रीलंकासँगको खेलमा भने यी दुईले सुधार गर्नुपर्नेछ।

श्रीलंकाका तीव्र गतिका बलर माथिसा पाथिराना, अलराउन्डर तथा स्पिनर वानिदु हसरंगा नेपालको कमजोर ब्याटिङका लागि चुनौती हुन सक्छन्। पछिल्ला चार खेलमा ओपनर कुशल भुर्तेलको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर १३ रन हो। आसिफले पनि पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। ओपनरले राम्रो सुरुआत दिन नसके नेपालको ब्याटिङ पूर्ण दबाबमा पर्नेछ। अनुभवी दीपेन्द्रसिंह ऐरी र युवा अलराउन्डर कुशल मल्लले पनि खराब ब्याटिङमा सुधार ल्याउनु पर्नेछ।

तब मात्र नेपालले टेस्ट राष्ट्र श्रीलंकालाई यस विश्वकपको समूहचरणबाटै निरास बनाउन सक्छ। नेपालका कप्तान रोहित कुमारले श्रीलंकाको स्पिन र तीव्र गतिको बलिङ चुनौती हुने भए पनि समालिएर खेल्ने बताए। श्रीलंकाका बलिङ प्रशिक्षक जाबेदले पनि पिचको कन्डिसले सहज नतिजा सम्भव नहुने बताए। ‘यो कन्डिसनमा कुनै पनि एक्सपेरिमेन्ट गर्न सकिँदैन। हरेक टोलीले अमेरिकाको पिचमा संघर्ष गर्नुपर्छ,’ प्रशिक्षक जाबेदले भने। जित्नै पर्ने दबाबमा रहेका दुवै टोलीका वर्षा बाधक बन्न सक्छ।

बुधवार साँझ ७ः३० लउडरहिलमा वर्षा र हावाहुरी हुने पुर्वानुमान गरिएको छ। यस्तो भएमा नेपाल र श्रीलंका दुबैका लागि यो नतिजा स्विकार्य हुनेछ। पहिलो खेलमा डच टोलीसँग ६ विकेटले पराजित भए पनि नेपालको बलिङले भने राम्रो गर्ने लक्ष्य राखेको छ। नेपालको जितको बलियो आधार १२ औं खेलाडी अर्थात् दर्शक बन्न सक्छन्। ग्रान्ड प्रेरी स्टेमिडयममा सम्पन्न पहिलो खेलमा पराजित भए पनि नेपालले राम्रो मात्रामा दर्शकको साथ पाएको थियो।

करिब १३ हजार दर्शक क्षमता रहेको यो रंगशालामा राम्रो संख्यामा समर्थक आउने अनुमान गरिएको छ। यो क्षमतामध्ये नेपाली दर्शकको बहुमत हुन अनुमान गरिएको छ। ‘नेपालको क्रिकेटमा प्यासन देखेर अचम्म लाग्छ। स्टेडियममा नेपालका दर्शक भरिभराउ हुन्छन्। यो टिमलाई विश्वकपमा देख्दा खुसी लाग्छ,’ प्रशिक्षक अकिबले भने।

प्रकाशित: २९ जेष्ठ २०८१ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App