१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट एक्सिलेन्ट र काठमाडौं जिल्लालाई उपाधि

क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं र काठमाडौं जिल्लाले एनसिसी महिला तथा पुरुष ट्वान्टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन्।

शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंले भक्तपुर क्रिकेट सेन्टरलाई डकवर्थ लेविस पद्धति (डिएलएस) मा १२ रन र महिलातर्फ काठमाडौंले ललितपुर जिल्लालाई सुपर ओभरमा आठ रनले पराजित गर्दै उपाधि जितेका हुन्।

वर्षाले प्रभावित पारेको पुरुषतर्फको खेलमा भक्तपुरले काठमाडौंलाई १२२ रनको लक्ष्य दिएको थियो, तर काठमाडौंले १६.१ ओभरमा तीन विकेट गुमाउँदै १११ रन बनाएर ब्याटिङ गरिरहँदा वर्षा हुन सुरु भएको थियो।

वर्षा नरोकिएपछि खेलको छिनोफानो डिएलएसबाट गरिएको हो। डिएलएसमा काठमाडौंले १०० रनको लक्ष्य पाएको थियो।  तर, १११ रन बनाइसकेको कारण काठमाडौं १२ रनले विजयी भयो।

वर्षा हुनुअघि काठमाडौंका दीपेन्द्र रावतले ३४ बलमा अविजित रहँदै ३८ रन बनाएका थिए। शिवम तिवारीले ३१ बलमा अविजित ३८ रन बनाउँदा ऋत गौतम १९ रनमा आउट भए। भक्तपुरका दीपक बोहराले २८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए। पूर्ण थापाको नाममा एक विकेट रह्यो।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको भक्तपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन बनायो। भक्तपुरका पूर्ण थापाले ४६ बल खेल्दै सर्वाधिक ५३ रन बनाए। अरूण ऐरी २७ रनमा आउट हुँदा इर्शद अहमद २१ रनमा अविजित रहे।

काठमाडौंका राज बमले २२ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए। दयानन्द मण्डलको नाममा दुई र मोनसन सिंहको नाममा एक विकेट रह्यो। खेलको प्लेअर अफ द म्याच काठमाडौंका दीपेन्द्र रावत भए। महिलातर्फको खेल भने टाई भएको थियो। ललितपुरले दिएको १३२ रनको लक्ष्य पछ्याएको काठमाडौंले नवौ विकेट गुमाउँदै १३१ रन नै बनायो। त्यसपछि खेल सुपर ओभरमा गयो।

काठमाडौंकी विपाशा शाहीले ३३ बलमा सर्वाधिक ३५ रन बनाइन्। करिश्मा गुरुङले २१ र अस्मिता खरेलले २० रन बनाए। ललितपुरकी श्वेता गुप्ताले २८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिइन्। मनीषा उपाध्याय र यशु पाण्डेले समान एक विकेट लिए।

सुपर ओभरमा काठमाडौंले एक विकेट गुमाउँदै १० रन बनाएको थियो। काठमाडौंकी कञ्चन श्रेष्ठले दुई बलमा पाँच रन बनाइन्। विपाशा शाही र करिश्मा गुरुङले समान एक रन बनाए। बाँकी तीन रन भने काठमाडौंले अतिरिक्त पाएको थियो। तर, ११ रनको लक्ष्य पछ्याएको भक्तपुरले भने दुई विकेट गुमाउँदै दुई रन मात्रै बनाउन सक्यो।

सुपर ओभरमा काठमाडौंकी संस्कृति फुयालले दुई रन खर्चिएर दुई विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच काठमाडौंकी विपाशा शाही भइन्।

प्रकाशित: २० जेष्ठ २०८१ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App