४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

तीन महिनापछि मैदान फर्किंदै महिला टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली करिब तीन महिनापछि मैदान फर्किने भएको छ।

गत फागुनमा साउदी अरबमा आयोजना भएको वाफ महिला च्याम्पियनसिप खेलेयता राष्ट्रिय महिला टोली मैदान उत्रन पाएको छैन। उक्त टोलीले चारदेशीय फुटबल प्रतियोगितामार्फत लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले आफ्नो घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ। हामीले यस प्रतियोगिताको लागि तयारी थाल्दै छौं,’ उनले भने।

प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए। नेपालले गत असोजमा चीनमा आयोजना भएको १९औं एसियन गेम्समा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा नेपालले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो। भियतनामसँग २-० र जापानसँग ८-० गोलअन्तरले पराजित भएको थियो।

समूहचरणको अन्तिम खेलमा भने रेखा पौडेलले ८३औं मिनेटमा गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा रोकेकी थिइन्।

त्यसको पाँच महिनापछि बिनातयारी साउदी पुगेको नेपाली टोलीले पश्चिम एसियाली फुटबल महासंघ (वाफ)ले आयोजना गरेको महिला च्याम्पियनसिप २०२४ मा समूहचरणमा सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा लेबनानलाई २-१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको नेपाल जोर्डनसँग भने पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरको पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

‘हाम्रो टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको छैन। फिफा विन्डोअन्तर्गत केही खेल खेल्नु नै पर्छ, यो अनिवार्य सर्त नै हो। वाफमा पनि हाम्रो टोलीले राम्रो प्रदर्शन गरेको थियो। त्यही प्रदर्शन देखेर लेबनानले प्रतियोगिता खेल्न बोलाएको हो। हामीले सहभागिता जनाउने निर्णय गरिसकेका छौं,’ प्रवक्ता शाहले भने।

प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। नेपाल वाफमा उपविजेता हुँदा तामाङले नै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

बन्द प्रशिक्षणमा चार गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीलाकुमारी चौधरीलाई बोलाइएको छ। वाफमा एन्जिलाले नेपाली टोलीको कप्तानी गरेकी थिइन्। गोलरक्षक अञ्जना र उषा भने प्रतियोगिताभर बेन्चमा सीमित भए।

उक्त प्रतियोगिता खेलेका डिफेन्डरहरू अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना र सबिना चौधरीलाई निरन्तरता दिइएको छ। डिफेन्डर गंगा गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।

टोलीमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्र भण्डारी, सरस्वती हमाल, रेणुका नगरकोटी, सरु लिम्बू, मनमाया दमाई र तुल्सा बोहराले स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

अमिषा, अनिता, प्रीति, दीपा, विमला, चन्द्रा र सरस्वतीले यस पटक पनि बन्द प्रशिक्षणमा निरन्तरता पाएका छन्। अनुभवी मिडफिल्डर सरु र रेनुका भने वाफ खेल्नुअघि घाइते भएका थिए। उनीहरू लामो समयपछि मैदान फर्किन लागेका हुन्।

फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, सविता रानामगरलाई निरन्तरता दिइएको छ। प्रशिक्षणमा ममता पुनले स्थान बनाउन सफल भएकी छन्। मुख्य प्रशिक्षक तामाङका अनुसार बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जेठ २० गतेदेखि सुरु हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App