३ असार २०८१ सोमबार
image/svg+xml
खेल

‘खेलकुदलाई पाठ्यक्रममा समावेश गरे पदक सम्भव’

नेपाल खेलकुद पत्रकार मञ्चको १९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राखेपका सदस्य-सचिव टंकलाल घिसिङ। तस्बिर : नागरिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को शुक्रबार भएको १९औं वार्षिक साधारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्यसचिव घिसिङले खेलको विशुद्ध प्राविधिक तालिमका आधारमा मात्र पदक प्राप्त गर्न नसकिने प्रस्ट पारे।

उनले विद्यालयस्तरमा खेल विषय समावेश गर्न सके मात्र नेपाली खेलकुदले सफलता प्राप्त गर्न सम्भव हुने औंल्याए। साथै उनले नेपाली खेलकुद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने धारणा राखे।  

खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको उल्लेख गर्दै सदस्यसचिव घिसिङले पत्रकारहरूले सबै खेलका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताए। उनले पत्रकारिताको आयाम फेरिरहेको र यस्तोमा खेलपत्रकारले खेलजगत्लाई दीर्घकालीन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनुपर्ने आवश्यक औंल्याए।

होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष एवम् राखेपका पूर्वसदस्यसचिव युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरू उत्पादन हुनु जरुरी रहेको उल्लेख गर्दै एकैजना खेलाडीले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सूचक रहेको धारणा राखे।

नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकिरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्ने बताए। नेपालका थुप्रै खेल संघहरूले वार्षिक रूपमा साधारण सभा गर्दै आए पनि थुप्रै खेल संघहरूले आफ्नो संघलाई संस्थागत रूपमा काम नगरेको प्रति उनको संकेत थियो।

उद्घाटनपछि भएको बन्द सत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) को कंग्रेस नेपालमा आयोजना गर्न राखेको प्रस्ताव सर्वसम्मतिले स्वागत गर्दै अनुमोदन गरेको थियो।

बन्द सत्रमा महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो।

प्रकाशित: १२ जेष्ठ २०८१ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App