६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

महाङ्काल प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबलको सेमिफाइनलमा

घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

ललितपुरको महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। सोमबार घरेलु टोलीसँगै घ्याङलेख गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका सेमिफाइनलमा पुगेका छन्। मंगलबार हुने सेमिफाइनलमा आयोजक महाङ्काल गाउँपालिकाले थाहा नगरपालिका र हेटौडा उपमहानगरपालिकाले घ्याङलेख गाउँपालिकासँग खेल्नेछ। सुरुआतदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका मकवानपुरका हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रतियोगिताका अपराजित टोली हुन्।

घरेलु टोली महाङ्काल भने पहिलो खेलमा हेटौंडासँग पराजित हुनाका बावजुद उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलमा पुगेको हो। त्यसअघि सोमबार भएको क्वार्टरफाइनलमा घरेलु टोली महाङ्कालले बाग्मती गाउँपालिकालाई २५–२२ र २९–२९ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। थाहा नगरपालिकाले भने चितवनको माडी नगरपालिकालाई २५–१७,२५–२१ को सोझो सेटमा हरायो। हेटौडा उपमहानगरपालिकाले रामेछापको खाँडादेवि गाउँपालिकालाई २५–१२ र २५–१६ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

अर्को क्वार्टरफाइनलमा सिन्धुलीको घ्याङलेख गाउँपालिकाले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामाथि २५–२३ र २९–२७ को कठिन जित रच्दै सेमिफाइनलमा स्थान बनाएको हो। १६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल मंगलबार नै हुनेछन्। प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रूपैयाँ छ। प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुने दुई टोलीले समान १/१ लाख रूपैयाँ पाउनेछन्।

उत्कृष्ट प्रशिक्षक र विधागत उत्कृष्ट पाँच खेलाडीलाई जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल लागत एक करोड ३० लाख रूपैयाँ छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुरको महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ। आयोजक कमिटीको संयोजक डोल्मामाया गोलेले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्ले यस प्रतियोगितामा सहयोग गरेका छन्।

प्रकाशित: २५ वैशाख २०८१ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App