२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी र एपिएफ च्याम्पियन

नेपाल आर्मी र एपिएफ क्लब शनिबार छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन्।

आर्मीले ३ स्वर्ण हात पार्‍यो। प्रहरीले २ तथा कर्णालीले १ स्वर्ण प्राप्त गरे। महिलामा एपिएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो। आर्मी, लुम्बिनी र प्रहरीले समान १/१ स्वर्ण हात पारे। पुरुष/ महिला दुवैमा समान ६/६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपिएफकी संगिता सुनार उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेस प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जिते। पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले आर्मीका खगेन्द्र रोकामगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपिएफका विक्रम चौधरी,  ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपिएफका रविन नेपाललाई हराउँदै पहिलो भए।

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बाग्मतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बाग्मतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोसीकी नारिका राई, ६० केजीमा एपिएफकी संगीता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपिएफकी विनीता थापामगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपिएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउँदै स्वर्ण जिते। हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ं.५/७.५ हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले पुरस्कृत गरे।

प्रकाशित: १८ चैत्र २०८० ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App