१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : लखनउ र सुदूरपश्चिम विजयी

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भएको पहिलो खेलमा लखनउले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

लखनउले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो। घरेलु टोलीका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाए भने रोशन झाले ३१ र विकल कुमार गुप्ताले २१ रन बनाए।

लखनउका लागि कार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिंदै २ विकेट लिए भने सरिमले ४ ओभरमा १३ रन खर्चिंदै २ र प्रिन्स शाहीले ४ ओभरमा २५ रन खर्चिंदै २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुप लखनउले २ खेलाडीको अर्धशतकको मद्दतमा ९ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो। लखनउका लागि निखिल रावले ६९ रनको विस्फोटक अर्धशतकीय पारी खेलेका थिए।

उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए। उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिन पुगेका थिए। कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए। सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए। लखनउका ३ खेलाडी शून्यमा आउट भएका थिए। लखनउले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैटौं विकेटका लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो। लखनउले अन्तिममा २०४ रन बनाउँदा लगातार ३ विकेट गुमाउन पुगेको थियो।

भरतपुरका लागि नयन प्रधानले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र २६ रन खर्चिएका थिए भने १३ डट बल फालेका थिए। उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन्। कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चंदै २ विकेट लिए भने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए।

यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ४७ रनले पराजित गर्‍यो। सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेस ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो।

मधेसका लागि ओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए। २० बल खेलेका साहिलले ३ चौका प्रहार गरे। निरज यादवले २४ र रोशन वि.क.ले २३ रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मधेस पराजित हुन पुग्यो।  

३३ रनमा पहिलो विकेट गुमाएको मधेस त्यसपछि सम्हालिन नसक्दा लक्ष्य भेट्टाउन सकेन । सुदूरपश्चिमका लागि दीपक बोहोराले ४ ओभरमा २२ रन खर्चिंदै ३ विकेट लिए भने युवराज खत्रीले २ ओभरमा १५ रन र भोजराज भट्टले ४ ओभरमा १८ रन खर्चिंदै समान २ विकेट लिए। नरेन साउद र वसन्त खत्रीले एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। उसका लागि वसन्त कार्कीले सर्वाधिक ४३ रन बनाए। २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे। टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विस्फोटक पारी खेले। ओपनर दीपक बोहोराले २३ बलमा २७ रनको पारी खेले। वसन्त कार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

मधेसका लागि प्रदीप पासवानले २ विकेट लिए भने प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए।

पहिलो जितसँगै प्रतियोगितामा लखनउ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसँगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागी छन्। प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुने छ।

प्रकाशित: ९ चैत्र २०८० १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App