२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल भ्रमण उपलब्धिमूलक: बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।

आइसिसीका अध्यक्ष बार्कलेले बुधबार त्रिवि र मूलपानी क्रिकेट मैदानको निरीक्षण गरे। बार्कलेको सरोकार निकायसँगको छलफलपछि क्यानले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो। सो अवसरमा अध्यक्ष बार्कलेले आफ्नो भ्रमण उपलब्धिमूलक र सकारात्मक रहेको धारणा राखेका हुन्। बार्कलेले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्सँग पनि निकै राम्रो छलफल भएको बताए।

आइसिसी पनि क्रिकेट राम्रोसँग विकास गर्नुपर्छ भन्ने उद्देश्यमा रहेकाले नेपाल भ्रमणका क्रममा भएका छलफलले लक्ष्य प्राप्त भएको उनको विश्वास छ। उनले नेपाललाई धेरैभन्दा धेरै खेलहरू प्रदान गर्दै सहयोग गर्न आइसिसी तयार रहेको बताएका छन्।

प्रम पुष्पकमल दाहालसँगको भेटबारे प्रस्ट्याउँदै बार्कलेले नेपालमा क्रिकेट खेल विकास गर्न नेपाल सरकार पनि तयार रहेको पाएको उल्लेख गरेका छन्। क्रिकेट संरचना र राष्ट्रिय टोलीमा मात्र लगानी नभई युथ डेभलपमेन्टमा समेत सहयोग गर्न सरकार सकारात्मक हुनु राम्रो पक्ष रहेको बार्कलेको बुझाइ छ।

नेपालमा क्रिकेटको शृंखलाहरू प्रदान गर्न क्रिकेट संरचना न्यूनतम मापण्डहरू पूरा गरेको हुनुपर्ने उनले उल्लेख गरे। मापदण्ड पूरा भएमा अन्तर्राष्ट्रिय टोलीले पनि नेपालमा शृंखलाहरू खेल्ने बार्कलेको विश्वास छ। नेपाल न्युट्रल भेन्युका रूपमा पनि प्रयोग हुन सक्ने उनको भनाइ छ। उनले आइसिसीको पूर्ण सदस्य राष्ट्रको मान्यता प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने र आयरल्यान्डजस्ता राष्ट्रले पनि मापदण्ड पूरागरेर पूर्ण सदस्य राष्ट्र बनेको धारणा राखे। कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामो समयदेखि आइसिसीका अध्यक्षलाई नेपाल ल्याउने प्रयास भए पनि यस पटक सफल भएको बताए।

सो अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले ढाका टोपी लगाउँदै बार्कलेलाई मायाको चिनो प्रदान गरे। क्यानका सचिव पारस खड्काले आइसिसीका ठूला प्रतियोगिता आयोजना गर्न नेपाल तयार रहेको जानकारी गराएको उल्लेख गर्दै सरकार पनि संरचना निर्माणमा सकारात्मक हुनु सुखद पक्ष रहेको बताए।  

प्रकाशित: ८ चैत्र २०८० ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App