१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट खेलाडी ममतालाई मासिक तलब

अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ। ‘मोटरबाटो, खेतका गहरा, चउर र टुँडिखेलमा बालबालिका, तन्नेरी र युवाहरु क्रिकेट खेलिरहेका भेटिन्छन्।

पछिल्लो समय अभिभावकले पनि आफ्ना बालबालिकालाई क्रिकेट खेल्न हौसला दिन थालेका छन्। राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्दै जाँदा क्रिकेट खेल हेर्ने, बुझ्ने र खेल्नेको संख्या बढ्दै गएको छ।

अर्घाखाँची क्रिकेट संघले टुँडिखेलमा गराउने अभ्यासमा दैनिक सयौंजनाले सहभागिता जनाउने गरेका छन्। अझ शनिबारको दिन त टुँडिखेल क्रिकेट खेलाडीले भरिभराउ हुने गर्छ।

अर्घाखाँचीमा जन्मिएका सौरभ खनाल, विक्रम भुसाल, उत्तम थापा मगर, देव खनालले १९ वर्षमुनि र राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने जगत् क्षेत्री, सरोज खत्री, सर्वोत्तम सुनार, अमित अधिकारीले विभिन्न क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

जिल्लामा अर्घाखाँची प्रिमियर लिग (एपिएल), अर्घाखाँची क्रिकेट एकेडेमी कप, पालिकास्तरीय अन्डर १६ लिग, छत्रदेव प्रिमियर लिग, उपमेयर कप, विद्यालयस्तरीय कपलगायतका प्रतियोगिता नियमित रुपमा हुँदै आएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले बताए।

पछिल्लो समय अर्घाखाँची क्रिकेट संघले महिला क्रिकेटरलाई प्राथमिकता दिँदै आएको छ। महिला खेलाडीको संख्या कम रहेकाले प्रोत्साहनस्वरुप ममता जिसीलाई मासिक तलब दिने निर्णय भएको संघका अध्यक्ष भट्टराईले जानकारी दिए।

क्यानको आधिकारिक सदस्य नभए पनि अर्घाखाँची क्रिकेट संघले महिला खेलाडी उत्पादन गर्न मासिक तीन हजार रुपैयाँका दरले पारिश्रमिक दिने निर्णय गरेको हो। ‘क्यानको आधिकारिक सदस्यताका लागि हामी प्रतीक्षारत छौं’, अध्यक्ष भट्टराईले भने, ‘हाम्रो तर्फबाट धेरै प्रयास भएको छ।’

यस्ता कदमले आगामी दिनमा क्रिकेटमा आकर्षण बढाउन र महिला खेलाडी उत्पादनमा मद्दत गर्ने अपेक्षा गरिएको छ। क्यानको सदस्यता नपाएकाले आर्थिक स्रोतको जोहो क्रिकेट संघ आफैंले गर्दै आएको छ। संघले खेलाडी प्रोत्साहन कोष स्थापना गरिसकेको छ। प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले ‘खेलाडी प्रोत्साहन कोष’ मा १० हजार रुपैयाँ जम्मा गरिसकेकी छन्।

अर्घाखाँचीका सबै पालिकामा खेल मैदान छ। उपमेयर कप आयोजना गरेर पालिकाहरुले क्रिकेट खेलाउँदै आएको छ। अर्घाखाँची क्रिकेट संघले खेलमा रुचि राख्ने खेलाडीलाई निःशुल्क रुपमा खेल सामग्री उपलब्ध गराउनुका साथै प्रशिक्षणसमेत दिँदै आएको छ।

प्रकाशित: २ चैत्र २०८० १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App