विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी, बाग्मती प्रदेशलाई हराउँदै शीर्ष स्थानमा उक्लेकाे छ।
बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालमा शनिबार भएको खेलमा (अण्डर १९ कप्तान) लुम्बिनी प्रदेशका कप्तानसमेत रहेका देव खनालले सतकीय पारी खेल्दै टोलीलाई विजयी बनाए। लुम्बिनी लगातार ३ खेलमा जित निकाल्दै समूह ‘बि’ मा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
लुम्बिनीले बाग्मती प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो। टस जितेर ब्याटिङ थालेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनायो। रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै ४३ रन, आशुतोष घिरैयाले २८ रन, उत्तम मगरले २५ रन र इशान पाण्डेले २१ रन बनाए। लुम्बिनीका राहुल चौहानले ३ र कृष्ण कार्कीले २ विकेट लिए।
१ सय ५४ रनको लक्ष्यका साथ मैदानमा आएको लुम्बिनीले १७ ओभर २ बल खेल्दै ३ विकेटको क्षतिमा विजयी प्राप्त गर्यो। प्लेयर अफ द म्याच देव खनालले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरी नटआउट हुँदै शतक बनाए।
प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी खनाल भए। विशाल विक्रम केसीले नटआउट २७ रन बनाए। बाग्मतीका लागि विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए।
अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई हराउँदै कर्णाली प्रदेशले अंक बटुल्न सफल भएको छ। कर्णालीले एपिएफलाई ५१ रनले पराजित गरेको हो। जितसँगै कर्णाली समूह ‘ए’ मा ४ खेल खेल्दै २ जित र २ मा हार व्यहोर्दै ४ अंकका साथ शीर्ष स्थानमा छ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ६५ रन बनायो। प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौकाका साथ नटआउट हुँदै ५५ रन बनाए। विपिन रावलले ४२ र रविन्द्र शाहीले ३५ रन जोडे। एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्शाद अहमदले समान १–१ विकेट लिए।
एपिएफ पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १४ रनमै समेटियो। अमर रौटेलाले ३७, हिमांशु दत्तले २५ र पुरन विकले १८ रन जोडे। कर्णालीका दीपेन्द्र रावत र रविन्द्र साहले २–२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल त्रिभुवन आर्मी र मधेस प्रदेशबीच हुनेछ।
प्रकाशित: २६ फाल्गुन २०८० २०:०२ शनिबार