कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसलाई हराउँदै सुदूरपश्चिम प्रदेश अंक तालिकामा अघि बढेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ।
विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालमा शुक्रबार भएको खेलमा विभागीय टोली पुलिस क्लबलाई सुदूरपश्चिमले ५२ रनमा पराजित गरेको हो। पराजयसँग पुलिसका शंकर रानाले बनाएको व्यक्तिगत ९१ रन खेर गयो।
टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८३ रन बनायो। ओपनर अभिषेक पलले ५८, किरण ठगुन्नाले ३० र प्लेयर अफ द म्याच नारायण जोशीले ४० रनको योगदान गरे। पुलिसका शरद भेषवाकरले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए।
पुलिसको टोली पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ३१ रन मै समेटियो। शंकर रानाले ९१ र अभिषेक कार्कीले २० रन मात्रै बनाए। सुदूरपश्चिमका शेर मल्ल र दीपक चन्दले समान २–२ विकेट लिए।
सुदूरपश्चिमले २ खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। गण्डकीलाई पहिलो खेलमा हराएको सुदूरपश्चिम दोस्रो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। त्यसैगरी, अर्को खेलमा कर्णाली प्रदेशलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले ८ रनले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ४० रन बनायो। प्लेयर अफ द म्याच वसिर अहमदले ४२, सन्दीप रजालीले ४१ र सन्तोष कार्कीले ३४ रनको योगदान गरे। कर्णालीका प्रकाश जैशीले २ विकेट लिए।
१ सय ४१ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ३२ रन मै समेटिँदा हार ब्यहोर्नु पर्यो। दीपेन्द्र रावतले ४७, रविन्द्र शाहीले २२ र विपिन रावतले १८ रन बनाए। आर्मीका नितेश पटेलले २ विकेट लिए।
शनिबारको पहिलो खेल कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफ तथा दोस्रो खेल बाग्मती र लुम्बिनीबिच हुनेछ।
प्रकाशित: २५ फाल्गुन २०८० २१:०० शुक्रबार





