१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सरस्वती माविलाई छात्रा क्रिकेट उपाधि

विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले आदर्श बालिका माध्यमिक विद्यालयलाई ७२ रनले पराजित गर्दै उपाधि जितेको हो। सरस्वती गतवर्षको उपविजेता हो।

टस जितेर ब्याटिङ थालेको सरस्वतीले १६ ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४३ रन बनायो। सरस्वतीकी प्लेयर अफ दी फाइनल प्रेरणा पासवानले ७२ रन, कृतिसा धामीले १७ रन बनाए। आदर्शकी कञ्चन राय, सीमा राय र सिम्रिका राजवंशीले समान १ विकेट लिए।

१ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा आदर्श १५.२ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमै समेटियो। आदर्शका कसैले पनि दोहोरो अंक छुन सकेनन्। सरस्वतीकी कृतिसा धामीले ४ तथा पूर्णिमा राजवंशी र अञ्जली मण्डलले १/१ विकेट लिए।

प्रतियोगितामा प्लेयर अफ दी सिरिज सरस्वतीकी कृतिसा धामी, उत्कृष्ट ब्याटर आदर्श बालिकाकी शकुन्तला सहनी र उत्कृष्ट बलर सरस्वतीकी चाँदनी यादव भए। खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठ, क्रिकेट विथआउट बाउन्ड्रीका  सार वेगलगायतले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा विराटनगरका सामुदायिक विद्यालय आदर्श मावि, आदर्श बालिका, महेन्द्र, सरस्वती, सत्यानारायण र मिल्स विद्यालयका छात्राको सहभागिता थियो। 

प्रकाशित: २२ फाल्गुन २०८० ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App