२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विद्यालय स्तरमा खेलाडी उत्पादन गर्दै भरतपुर महानगर

भरतपुर महानगरपालिका–६ स्थित गितानगरका मन्दिप बराल क्रिकेट खेलप्रति आकर्षित छन्। कक्षा ९ मा अध्ययनरत बराल क्रिकेट सिक्न कै लागि डेढ घण्टा लगाएर ऐकेडेमी पुग्छन्।

घर परिवारबाट राम्रो सहयोग र साथ पाएका उनको लक्ष्य राष्ट्रिय टोलीबाट खेल्ने छ। स्थानिय तथा जिल्ला स्तरीय प्रतियोगिता न्यून हुँदा आफ्नो स्तरलाई बढाउन नसकिने हो कि भन्ने चिन्ता उनीमा थियो। तर, भरतपुर महानगरपालिकाले विद्यालय स्तरिय प्रतियोगिता गर्न थालेपछि भने उनीमा आशा जागेको छ। ‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’

उनी अलराउण्डर हुन्। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिवार समपन्न भएको भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा म्याद अफ् द म्याज समेत भएका थिए।

गैंडाकोट नगरपालिकाका सुमन सापकोटाको पनि क्रिकेट खेलप्रति मोह उत्तिकै छ। चितवनको अर्किड कलेजमा अध्ययनरत सापकोटाले घर नजिकैको रजहर किक्रेट एकेडेमीमा सिकिरहेका छन्। स्थानिय स्तरमा क्रिकेट प्रतियोगिता निकै कम भएको उनको अनुभव छ। स्थानिय तथा जिल्ला स्तरमा क्रिकेट प्रतियोगिता भए खेलाडीहरुलाई धेरै फाइदा पुग्ने उनले बताए। भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा म्याद अफ द सिरिज हात पारेका सापकोटाले तल्लो स्तरमा प्रतियोगिता भए आफ्नो आफुलाई निर्खान सकिने उनले बताए। ‘हाम्रो सानैदेखि प्रतियोगिता भएपछि पनि सिनियर लेबलमा गएपछि अझै राम्रो हुन्छ’, उनले भने।

भरतपुर महानगरपालिकामा क्रिकेट खेलाडीको टोली निर्माण गर्नका लागि जिल्ला क्रिकेटसंघ संग समन्वय गरेर विद्यालय स्तरिय प्रतियोगिता सञ्चालन गरिरहेको छ। क्रिकेट खेलाडीको उत्पादन गर्न गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको आयोजना गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। विद्यालयमा हुने खेलकुद गतिविधिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण अवसर दिने बनाइन्। उनले विद्यालय स्तरिय महिला क्रिकेट प्रतियोगिता पनि सञ्चालन गर्ने जानकारी दिइन्। 

सामुदायिक विद्यालयमा खेलकुदका सामाग्री वितरण समेत गर्दै आएको महानगरका शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। माघ २६ गतेदेखि सुरु भएको प्रतियोगितामा २० टोलि सहभागी थिए। त्यहाँबाट महानगरपालिका स्तरियर तीन टोलि बनाइने पौड्यालले बताए। ‘हामीले पालिका स्तरिय हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्दै छौँ। यहाँबाट प्रत्येक एक टिमा १४ जना रहने गरी तीन टोली गठन गर्दै छौँ’, उनले भने, ‘यही टोली अन्य पालिकामा हुने प्रतियोगितामा खेल्न जानेछन्।’

सामुदायिक विद्यालयहरुले पनि क्रिकेट खेललाई प्राथमिकता दिँदै आएका छन्। कतिपय विद्यालयहरुले खेल शिक्षक समेत नियुक्त गरेका छन्। नारायणी नमुना माध्यमिक विद्यालयका खेल शिक्षक रन्जन केसी सामुदायिक विद्यालयहरुले खेललाई प्राथमिकता राखेको बताउँछन्। ‘विद्यार्थी भाइबहिनीले सामानहरु प्राप्त पाउन सकेका छैनन्। तर, विगतको तुलनामा सामुदायीक स्कुलमा खेलको आक्रषण बढेको छ’, उनले भने। भरतपुर महानगरपालिकाले निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता गर्दै आएको छ।

यस्तै, भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि अर्किड स्कुलले जितेको छ। गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नुमना मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किडे उपाधि जितेको हो।

भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका २० क्रिकेट टिमको सहभागिता रहेको थियो।

फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभर खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो।

प्रतियोगिताको उपाधि जितेको अर्किडले विधागत पुरस्कारतर्फ पनि एकलौटी हात पार्यो।  फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन बनाएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए। मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका बेस्ट बलर पनि भए।

त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए। खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए। उनको नाममा १४ विकेट पनि रहयो। विजेता बनेको अर्किडले ६० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ र ट्रफि हात पा¥यो। विजेता र उपविजेतालाई महानगर प्रमुख रेनु दाहालले पुरस्कार प्रदान गरेकी थिईन्।

प्रकाशित: २० फाल्गुन २०८० १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App