३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

स्ट्राइकर ‘साम्बा’ को सन्देश, ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।

उनले केही बेर अघि फेसबुकमा एक स्ट्याटस लख्दै भनेकी छिन्, ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ। हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुन: एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु।’

वाफ महिला च्याम्पियनसिप फिफाको विन्डो भित्र नपर्ने हुनाले साम्बा फाइनल खेल खेल्न नपाउने भएकी हुन। सावित्रा जोर्डनविरुद्धको फाइनल खेल छाडेर आफू आबद्ध क्लब एना भानमा गुइनगाम्पमा फर्किएकी छिन्।

उनले भनेकी छिन, ‘खेलाडीको रूपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु। र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु।’

साम्बाले देशको लागि खेल्नु आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भनेकी छिन्, ‘जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ। नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु। नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठुलो गौरवको कुरा सायदै अरू होला।’

उनी भन्छिन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ। क्लबले सधैँ मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु।’

अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिइसकेको छ।

उनी आबद्ध क्लब र सावित्राबीचको सम्झौतामा भने फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने सहमति छ। तर फिफाको नियमले गर्दा उनी फाइनल खेल्नबाट वञ्चित भएकी हुन।

नेपालले जोर्डनविरुद्धको वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज राती खेल्दै छ। यो खेलमा उनी हुने छैनन्। तर यो प्रतियोगिताका यस अघिका ४ खेलामा सावित्राले ९ गोल गरेकी छिन्। 

प्रकाशित: १७ फाल्गुन २०८० १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App