१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

दाङ क्रिकेट लिग: दंगाली लायन्स र पुरनधाराको विजयी सुरुवात

दाङमा दाङ क्रिकेट लिगको दोस्रो संस्करण सुरु भएको छ। सोमबार देखि सुरु भएको यो प्रतियोगिताको पहिलो दिन भएका दुई खेलमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका छन्।

प्रतियोगितामा पाँच समूहको सहभागिता रहेको छ। सोमबार भएको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा सोमबार भएको दोस्रो खेलमा पुरनधाराले देउखुरीलाई पराजित गर्‍यो।

दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गरेको थियो। घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो। 

दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रनको योगदान दिए। यस अघि टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनाएको थियो।

घोराहीका लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलीप नाथले २ रन मात्र बनाउन सके। दंगाली लायन्सको बलिंगमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए। प्रकाश जैसी र बिर बहादुर घर्ती मगरले २/२ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए।

दोस्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो। देउखुरिले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २०, रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रनको योगदान दिए।

देउखुरीको बलिंगमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दिपक बोहराले १/१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ः३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ः३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म संचालन हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०८० १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App