२१ पुस २०८१ आइतबार
image/svg+xml
विचार

राजनीतिले सिध्याएको शिक्षा

शिक्षाको गुणस्तरमा गिरावट, शिक्षण विधिको एकरूपता र परीक्षा प्रणालीको अव्यवस्थित संरचनाले शिक्षा क्षेत्रलाई राजनीतिक परिपाटीको रुग्ण अवस्थाजस्तै बनाएको छ। नेपालको राजनीतिक संरचनाजस्तै शिक्षण पद्धति र परीक्षा प्रणाली पनि अव्यवस्थित, सुधारविहीन र परम्परागत सोचको बन्दी भएको छ। राजनीतिको चलखेलले शिक्षा क्षेत्रमा देखिएका समस्या झनै गम्भीर बनाएको छ।

एकातिर परम्परागत सोचको नियन्त्रण छ। जसरी नेपालमा राजनीतिक नेतृत्वले नयाँ सोच र सुधारलाई अवरुद्ध बनाएको छ, त्यसरी नै शिक्षण पद्धतिमा परम्परागत प्रवृत्तिले जरा गाडेको छ। त्यसैगरी शिक्षकहरूलाई नवीन पद्धतिमा प्रशिक्षित नगरिनु, विद्यार्थीलाई रटानमुखी शिक्षा प्रणालीमा बाँध्नु र वर्षमा एकपटक लिने परीक्षालाई मात्र शिक्षाको मूल मापक मान्नु समस्या देखिएको छ।

अर्कातिर अनुपयुक्त नीति र निर्णयहरू छन्। शिक्षा क्षेत्रमा थुप्रै सुधारका नीति कागजमै सीमित बनाइएका छन्। व्यावहारिक शिक्षालाई प्राथमिकता दिने नीतिहरू बने पनि कार्यान्वयनको अभावले विद्यार्थी अझै पाठ्यपुस्तक–केन्द्रित र तीन घण्टे परीक्षा प्रणालीमा जकडिएका छन्। जसले गर्दा नेपालको शिक्षा, शिक्षण पद्धति एवं परीक्षा प्रणाली अहिलेको समयमा अप्रासंगिक र असफल साबित हुँदै गएको छ।

एक सन्दर्भ, कलेजमा युनिट टेस्ट थियो। मैले उत्तर पुस्तिका र प्रश्नपत्र बाँडेँ। अचम्म के भयो भने अरू बेला सबैको हातमा प्रश्न पुग्दानपुग्दै बाहिर निस्कन घडी हेर्न सुरु गर्नेहरू आज हातमा प्रश्न र कापी पर्नेबित्तिकै प्रश्नसमेत राम्रोसँग नपढी धमाधम निहुरेर लेख्न थाले। यसो हेर्छु, नियमित विद्यार्थीका साथसाथै कहिलेकाहीं मात्र कक्षामा देखापर्ने ‘टुरिस्ट’ विद्यार्थीसमेत दायाँबायाँ नहेरी एकतमासले लेखिरहेका थिए।

आजभोलि स्कुल कलेजमा यस्तो दृश्य अप्रत्यासित हो। यति गम्भीरतासाथ परीक्षालाई कमै लिइन्छ आजभोलि। तर पनि कसरी अनुकरण (चलनचल्तीको भाषामा चिट) गर्दा रहेछन् नजिक गएर बुझ्ने कोसिस गरें। उनीहरू हाम्रो पालामा जस्तो सँगै बसेको साथीको कापी हेरेर वा कागजको टुक्रामा बडो मेहनत साथ तयार पारिएको चिटबाट सारिरहेका थिएनन्। बरु शान्त, बिना कुनै हल्ला, टाउको नउठाई एकाग्रतासाथ लेखिरहेका थिए। कारण थियो– दुई खुट्टाबीच लुकेको मोबाइल फोन अनि च्याट जिपिटीको सहायता।

भोलिपल्ट कक्षामा जान्न खोजेँ– किन उनीहरूलाई पढाइप्रति यति धेरै वितृष्णा बढेको ? सरल शब्दमा भने, ‘एक त यति धेरै विषय के र किन पढाइन्छ थाहा छैन। अर्को, प्रविधिको यस्तो बानी परिसक्यो कि आफैं लेख्ने आत्मविश्वास नै छैन।’

हुन पनि हो, कृत्रिम बौद्धिकतालाई शिक्षामा समायोजन गर्नुपर्ने बहस चलिरहेको बेलामा च्याट जिपिटिबाट उत्तर सार्नु सही वा गलत अर्को छलफलको विषय बनाउन सकिन्छ। तर यस घटनाले परम्परागत शिक्षण पद्धतिका केही गम्भीर कमजोरीलाई उजागर गरेको छ। यसले देखायो कि विद्यार्थी अब परिश्रम गरेर सिक्न भन्दा सजिलो समाधान खोज्न प्रेरित भएका छन्। प्रविधि भनेको सिकाइको सहयोगी माध्यम हो, तर यसको दुरूपयोगले शिक्षाको गुणस्तरलाई गम्भीर चुनौती भने दिन्छ। समस्या कहाँ छ त?

गिर्दो शैक्षिक स्तर

आजका विद्यार्थीलाई प्रविधिको सहज पहुँच छ। चाहे च्याट जिपिटी होस् वा अन्य एआई उपकरण, जसले तत्काल उत्तर प्रदान गर्छन्। प्रश्न चाहेजस्तो पनि होस्, विद्यार्थीहरूले सजिलै समाधान पाउँछन्। यो सुविधाले उनीहरूको सिर्जनात्मकता र सोचविचार गर्ने क्षमतामा असर पु¥याइरहेको छ। युनेस्कोको २०२४ को प्रतिवेदनले अनुसार डिजिटल उपकरणको दुरूपयोगले विश्वव्यापी रूपमा ३५ प्रतिशत विद्यार्थीको सिर्जनात्मकतामा कमी आएको छ।

नेपालमा शिक्षाको गुणस्तर झर्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। राष्ट्रिय शिक्षा नीति २०७७ का अनुसार माध्यमिक तहमा ७५ प्रतिशत विद्यार्थी आधारभूत सिपमा कमजोर देखिएका छन्।

यस्तै, पढाइ र लेखाइको क्षमता कमजोर भएका विद्यार्थीको दर बढ्दो छ। नाम चलेको कलेजमा पढ्दै गरेका युवा (एकाध छोडेर) उत्तरपुस्तिका पढ्यो भने सामान्य वाक्य संरचना पनि स्पष्ट हुँदैन। यो मात्र समस्याको जड होइन। यस्ता कमजोरीका पछाडि परम्परागत परीक्षा प्रणाली, विद्यार्थीको शिक्षणप्रति बढ्दो अविश्वास, शिक्षकहरूको काम चलाउ प्रवृत्ति र प्रविधिको असन्तुलित प्रयोग प्रमुख कारण हुन्। शिक्षाको परम्परागत संरचनाले पनि प्रविधिको प्रभावलाई थप बल पु¥याएको छ।

परम्परागत परीक्षा प्रणाली

विभिन्न अध्ययनले देखाएका छन् कि परम्परागत परीक्षा प्रणालीले विद्यार्थीको समग्र क्षमताको २५ प्रतिशत मात्र मापन गर्न सकिन्छ। यसले विद्यार्थीको समग्र क्षमताको विकासलाई सीमित गरिरहेको छ।

शिक्षण र सिकाइको मूल्यांकन जबसम्म लेखाइको आधारमा मात्र गरिन्छ र प्रविधिले उत्तर सजिलै उपलब्ध गराउँछ, तब विद्यार्थीको ध्यान परीक्षामा पास हुने उपाय खोज्न केन्द्रित हुनु स्वाभाविक हो। त्यसैले विश्वका धेरै मुलुकहरूले हाल ३६०–डिग्री मूल्यांकन पद्धति, परियोजना आधारित सिकाइ र प्रासंगिक सिप मूल्यांकनमा जोड दिएका छन्।

शैक्षिक संस्थाहरूको निजी स्वार्थ

नेपालका धेरै शैक्षिक संस्थाहरू आफ्नो व्यावसायिक फाइदामा मात्र केन्द्रित भएका देखिन्छन्। गुणस्तरीय शिक्षा प्रदान गर्ने नाममा भौतिक संरचना र प्रविधिको उपलब्धताको आडम्बर व्यापक छ।

उदाहरणका लागि काठमाडौं उपत्यकाका धेरै निजी विद्यालयले ‘स्मार्ट क्लासरुम’ नाममा ठुलो शुल्क असुल्दै आएका छन्, तर शिक्षण सामग्री र विधिमा भने विशेष परिवर्तन देखिँदैन। विद्यार्थीको शिक्षण पद्धतिमा सुधार ल्याउनुपर्ने ठाउँमा प्राथमिकता नदिई संस्थाले केवल ‘ब्रान्डिङ’मा जोड दिएको पाइएको छ।

परीक्षा प्रणालीका दोषलाई निजी विद्यालयहरूले आफ्ना फाइदाका लागि कुशलतापूर्वक प्रयोग गरिरहेका छन्। आजभोलि धेरैजसो निजी विद्यालयले आफ्नै आन्तरिक मूल्यांकन प्रणाली अपनाउँछन्, जसले विद्यार्थीहरूलाई सजिलै पास गराउन अनुकूल वातावरण तयार गर्छ। सर्टिफिकेट र ग्रेडलाई सर्वोच्च मान्ने मानसिकताले ग्रस्त हामी आफ्ना केटाकेटीको वास्तविक क्षमता र योग्यताको ज्ञानबारे अन्योलमै छौं।

समस्या तब गहिरिन्छ, जब उम्दा सर्टिफिकेट हातमा लिएर पनि युवा बेरोजगार रहन्छन् वा अकाडेमिक योग्यताभन्दा निकै न्यूनस्तरका काम गर्न बाध्य हुन्छन्। यस्तो अवस्थाले हाम्रो शिक्षा प्रणाली र सामाजिक संरचनाबारे गहिरो प्रश्न उठाउन बाध्य पार्छ।

नेपालको शिक्षण प्रणालीमा अर्को गम्भीर समस्या शिक्षाको प्राथमिकता र मूल्यांकन प्रणालीमा देखिन्छ। विद्यालयहरू प्रायः विद्यार्थीको वास्तविक क्षमता र समग्र विकासमा भन्दा ‘नतिजा’ र ’शुल्क संकलन’ मा बढी केन्द्रित छन्।

एसइई परीक्षाको उच्च ग्रेडलाई आफ्नो प्रचारको प्रमुख साधन बनाउने अभ्यासले शिक्षणको उद्देश्यलाई संकुचित बनाइरहेको छ। यो प्रवृत्तिमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइन्छ तर औसत र कमजोर विद्यार्थीहरूको शिक्षामा सुधार ल्याउन चाहिने समर्पण र प्रयासको कमी स्पष्ट छ।

झन् केही प्रतिष्ठित विद्यालयले कमजोर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएर विद्यालयमा नै कोचिङ कक्षा सञ्चालन गर्ने तर विद्यार्थीको पढाइमा खासै सुधार नभएका अभिभावकहरूका साथै विद्यालय एवं विषयगत शिक्षकहरू स्वयंको गुनासो गर्ने गरेका छन्। तर यस्ता गम्भीर अवस्थालाई सुधार्नुको साटो ती विद्यार्थीहरूलाई शारीरिक र मानसिक दबाब सिर्जना गरेर विद्यालय छोड्न बाध्य बनाउने स्थिति निर्माण गर्ने गरेको पाइन्छ। यस किसिमको असमान र अमानवीय व्यवहारले न केवल नेपालको शिक्षण प्रणालीलाई खण्डित गरिरहेको छ, बरु विद्यार्थीहरूको भविष्यमाथि पनि गहिरो नकारात्मक प्रभाव पारिरहेको छ।

कामचलाउ शिक्षण

शिक्षकहरू प्रविधिको सहायतामा सजिलो शिक्षणतर्फ आकर्षित भएका छन्। गामा, पावर पोइन्ट प्रस्तुति र च्याट जिपिटीको उत्तरलाई प्रस्तुत गर्न सजिलो उपायका रूपमा प्रयोग गरिन्छ। यसले शिक्षणलाई सजिलो बनाएको भए पनि शिक्षक–विद्यार्थी दुवैको सम्बन्धित विषयको गहन अध्ययन र आलोचनात्मक सोच–विचारलाई कमजोर बनाएको छ।

यसबाहेक शिक्षकहरूको आर्थिक अवस्थाले पनि शिक्षणमा प्रभाव पारिरहेको छ। धेरै शिक्षकहरूलाई विभिन्न विद्यालयमा दौडधुप गर्नुपर्ने बाध्यता छ। यसले उनीहरूको शिक्षण गतिविधिमा गहिराइ र प्रतिबद्धताको कमी ल्याएको छ। साथै, शिक्षण पेसाबाट जीवनस्तर उकास्न कठिनाइले उनीहरूलाई मात्र ‘कामचलाउ’ प्रवृत्तितर्फ धकेलिरहेको छ।

भावी पुस्तामा प्रभाव

माथिका विविध कारणहरूका साथै प्रविधिको दुरूपयोगले भविष्यमा शिक्षाको गुणस्तर कस्तो हुनेछ भन्ने प्रश्न उठ्छ। यसले विद्यार्थीलाई परिश्रम र अनुशासन सिक्नबाट टाढा पुर्‍याउनेछ। यसबाहेक समाजमा दक्ष जनशक्तिको अभाव हुनेछ, जसले राष्ट्रिय प्रगतिलाई अवरुद्ध गर्न सक्छ। परम्परागत तीन घण्टे परीक्षा प्रणालीलाई जोगाइराख्ने प्रयासले समस्या झन् जटिल बनाएको छ। राजनीतिक कारणले शिक्षा प्रणालीमा सुधार ल्याउन ढिलाइ भइरहेको छ।

आधुनिक मूल्यांकन पद्धति: विद्यार्थीको सृजनात्मकता, विश्लेषणात्मक क्षमता र व्यावहारिक सिपको परीक्षण गर्ने प्रणाली अपनाउनु। उदाहरणका लागि परियोजना आधारित मूल्यांकन र समूहगत छलफल, सोध अध्ययन प्रणाली।

शिक्षक–विद्यार्थी दुवैलाई प्रविधिको सही प्रयोगः प्रविधिको समुचित र नियन्त्रित प्रयोग गराउन शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण छ। एआईको प्रयोगलाई सिर्जनात्मक कार्य र अनुसन्धानमा संलग्न गराउन सकिने सम्भावनाको खोजी र कार्यान्वयन संवेदनशील नीति निर्माणः शिक्षाको गुणस्तर सुधारका लागि संस्थागत स्वार्थभन्दा माथि उठेर नीति निर्माण गनुपर्छ।

निष्कर्ष

प्रविधि शिक्षाको अविभाज्य हिस्सा हो। तर यसको दुरूपयोगले शिक्षाको गुणस्तरलाई खस्काउने मात्र होइन, सामाजिक संरचनामा दीर्घकालीन असर पुर्‍याउँछ। तीन घण्टे परीक्षा प्रणालीलाई समयानुकूल परिमार्जन नगरेसम्म र प्रविधिको सीमित उपयोग गर्न नसक्दा आगामी पुस्ताले गुणस्तरीय शिक्षाबाट वञ्चित हुने जोखिम रहन्छ। ढिला भइ नै सकेको छ– शिक्षण र मूल्यांकन पद्धतिमा परिवर्तन गर्ने, विद्यार्थीको सिर्जनात्मकता र सोच–विचारलाई प्राथमिकता दिने र प्रविधिलाई सहयोगी माध्यमका रूपमा सीमित गर्ने।

-कुइँकेल आजीवन सिकाइ मण्डलाका सहसंस्थापक तथा संयोजक हुन्।

प्रकाशित: १९ पुस २०८१ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App