२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा

रग्बी लिग खेल्ने टोलीका कप्तान बायाँबाट क्रमशः पुलिसका विनोद शाही, आर्मीका कपिल सापकोटा, गोर्खालीका विक्रम पुरी र एपिएफका विराट श्रेष्ठ। तस्बिर: नागरिक

विदेशी खेलाडीसहित हुने चार क्लबले प्रतिस्पर्धा गर्ने फिफ्टिन रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा भएको छ।

नेपाल रग्बी संघको आयोजनामा फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा उक्त लिग हुँदै छ। संघले बिहीबार रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो। यस लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपिएफ क्लब र गोर्खाली रग्बी क्लबले चुनौती प्रस्तुत गर्दै छन्।

संघका महासचिव गोविन्द घिमिरेले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन्। गोर्खाली पछिल्ला चार संस्करणको उपविजेता टोली हो।

दोस्रो खेलमा एपिएफ क्लब नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। आर्मी भने गत चारै संस्करणको विजेता हो। प्रतियोगिता फागुन ६, ९ र १२ गते सञ्चालन हुनेछन्। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई यस वर्षदेखि रनिङ ट्रफी प्रदान गरिने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। संघले सबै टोलीलाई एक लाख ४० हजार रूपैयाँ तयारी खर्च पनि प्रदान गरेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार रूपैयाँ पाउनेछ। सहभागी टोलीलाई रग्बीका प्रशिक्षक विजेलाश सनले एक महिना अघिदेखि नै प्रशिक्षण दिइरहेको संघले जनाएको छ।

गोर्खाली रग्बी क्लबका कप्तान विक्रम पुरीले यसपल्ट ट्रफी जित्ने गरी तयारी गरिएको बताए। ‘यसपालि च्याम्पियन हुने लक्ष्यका साथ तयारी गरेका छौं। हामी त्यो लक्ष्यमा पुग्छौं,’ विक्रमले भने। गोर्खाली क्लबले पाँच विदेशी खेलाडीलाई बोलाएको क्लबका म्यानेजर सुरेन्द्र कुँवरले बताए।

गोर्खालीका लागि प्रतियोगिता खेल्न जापान, भारत र इङ्यान्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छन्।

संघका कोषाध्यक्ष दीपक अधिकारीले एउटा क्लबले पाँच विदेशी राख्न पाउने र तर एक पटकमा तीन खेलाडी मात्र मैदान प्रवेश गर्न पाउने नियम बनाएको बताए। पत्रकार सम्मेलनमा सहभागी चारै क्लबले तयारी राम्रो भएकाले सुखद नतिजा आशा गरेका छन्।

संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने बताए। नेपालले बंगलादेशसँग रग्बी फिफ्टिनको दुई देशीय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ। यो प्रतियोगिता आगामी वैशाख महिनामा गर्ने योजना रहेको उनले बताए।

प्रकाशित: ५ फाल्गुन २०८० ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App