१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपको फाइनलमा एनआरटी र एपिएफको भिडन्त हुने

मकवानपुर गोल्डकपको ट्रफीका साथ फाइनल पुगेका टिमका प्रशिक्षक र कप्तान।

हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ। नेपालका चर्चित क्लब न्यूरोड टिम (एनआरटी) र सशस्त्र प्रहरीको (एपिएफ) फाइनल खेल्दैछ। एनआरटीले सेमिफाइनलमा धनकुटाको राजारानीलाई सडनडेथमा र एपिएफले बागमती युवा क्लब सर्लाहीसँग सहज जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो।

फाइनल प्रवेशको क्रममा एनआरटीले सडनडेथमा १७–१६ को जित निकालेको थियो भने एपिएफले बागमतीसँग ४–० को जित निकालेको थियो। यो पटक मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ। यी दुई क्लब यो प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका हुन्। यसअघि २०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

त्यसपछि नियमित हुन नसकेको प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएकोमा उक्त वर्ष घरेलु टिम मकवानपुर ११ ले उपाधि जितेको थियो। २०७७ र २०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले प्रतियोगिताको उपाधि जित्दा अघिल्लो वर्ष हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो। यस वर्ष साबिक विजेता मनाङमस्र्याङ्दी क्लबले प्रतियोगितामा सहभागिता जनाएको छैन भने उपविजेता शेर्पा क्लब एनआरटीसँग हार व्यहोर्दै पहिलो खेलबाटै बाहिरियो। अघिल्लो पटक फाइनल पुगेको टोली शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले नै सम्हालिरहेको एपिएफ फाइनलमा पुगेको छ। एपिएफसँग जीवन सिन्केमानको प्रशिक्षणमा रहेको एनआरटी भिड्दैछ। फाइनलको अघिल्लो दिन शुक्रबार बिहान हेटौँडामा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्।

एनआरटीका प्रशिक्षक सिन्केमानले छोटो समयको तयारीमा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेकोले जित्ने विश्वास व्यक्त गरे। उनले निर्धारित समयमै गोल गर्न आफ्नो टिमले फिनिसिङमा सुधार गरेको बताए। एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले उच्च मनोबलका साथ मैदानमा उत्रिने र उपाधि जित्ने लक्ष्य रहेको बताए। उनले प्रतिद्वन्द्वीलाई आफूहरुले कमजोर नसोची सोही अनुसारको तयारी गरेको बताए। एपिएफका कप्तान मणि लामा र एनआरटीका कप्तान अशोक थापाले पनि हालसम्मको प्रदर्शन राम्रो रहेको र फाइनलको लागि थप मेहनत गरिएकोले उपाधि जित्ने दाबी गरे। एनआरटीले करिब दुई हप्ताअघि इलाम गोल्डकपको उपाधि समेत जितेको थियो।

शनिबार दिउँसो २ बजेबाट हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्, हेटौँडा उपमहानगरपालिकासहित जिल्लाको स्थानीय तह र अन्य विभिन्न सङ्घसंस्थाको सहयोगमा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुँदै आएको हो। माघ १६ गतेबाट सञ्चालन भएको छैठौं संस्करणको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २६ माघ २०८० १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App