१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफको फाइनल सम्भावना जीवितै

१५ वर्षे चन्दन रामले डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गरेपछि एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।

१५ वर्षे चन्दनले डेब्यु खेलमा नै पाँच विकेट लिएपछि एपिएफले मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमलाई तीन विकेटले हराएको हो। हारले एपिएफलाई शीर्ष दुईमा रहँदै फाइनल खेल्ने दौडबाट बाहिर गराउँथ्यो।

यद्यपि, फाइनलकै होडमा रहेको सुदूरपश्चिमविरुद्ध जित निकाल्दै एपिएफले आफ्नो सम्भावना कायमै राखेको छ। हारपछि सुदूरपश्चिमको भने शीर्ष दुईको सम्भावना समाप्त भयो। यो जितसँगै एपिएफले आठ खेलबाट १० अंक जोड्यो। सात खेलसम्म अपराजित नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ।

एपिएफले लिगको अन्तिम खेल कर्णाली प्रदेशसँग खेल्दै छ। फाइनल यात्रा कायमै राख्न एपिएफसँग त्यो खेलमा जितको विकल्प हुने छैन। साथै एपिएफ नेट रनरेटका आधारमा फाइनलमा पुग्न नेपाल आर्मी क्लबले अन्तिम खेलमा फराकिलो हार बेहोर्नुपर्नेछ।

तर, आर्मीले अन्तिम खेलमा गण्डकीविरुद्ध जित निकाल्दा भने एपिएफको सम्भावना समाप्त हुनेछ। मंगलबार सुदूरपश्चिमलाई हराउँदै जारी प्रतियोगितामा पाँचौं जित निकाल्दा एपिएफले बलिङमा साथ पाए पनि ब्याटिङमा भने निकै संघर्ष गर्नुपर्‍यो।

एपिएफको उत्कृष्ट बलिङसामु सुदूरपश्चिमले ८८ रनको झीनो लक्ष्य दिएको थियो। जबाफी ब्याटिङ गरेको एपिएफले पनि निकै संघर्ष गर्नुपर्‍यो। एपिएफले १४.१ ओभरमा लक्ष्य भेट्टाउँदा सात विकेट गुमाउन पुग्यो।

एपिएफका ओपनरद्वय लोकेश बम ६ रन र आशिफ सेख १५ रनमा नै पभेलियन फर्किए। त्यसपछि सुमित महर्जन र कप्तान रोहित पौडेल पनि समान ४ रन बनाउँदै आउट भए। भुवन कार्कीले १४ रन, प्रदीप ऐरीले १२ रन, अमर रौतेलाले ४ रन जोड्दा सन्दीप जोराले १८ रनमा अविजित रहँदै जित दिलाए।

सुदूरपश्चिमले कसिलो बलिङसँगै विकेट लिए पनि एपिएफको जित भने रोक्न सकेन। सुदूरपश्चिमका दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिँदै दबाब बनाए पनि सफलता पाउन सकेनन्।

दीपकले सात ओभरमा ३६ रन र नरेनले ६ ओभरमा ४४ रन खर्चिए। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा मात्र ८७ रनमा नै अलआउट हुन पुग्यो। सुदूरपश्चिमलाई सस्तैमा रोक्न एपिएफका चन्दन रामले सात ओभरमा ५१ रन खर्चदै सर्वाधिक पाँच विकेट लिए।

भुवन कार्कीले तीन तथा कप्तान रोहितले दुई विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशयी बनाए। सुदूरपश्चिमका लागि नारायण जोशीको नटआउट ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

उनले २५ बलमा समान तीन छक्का र चौका प्रहार गरे। ओपनर खडक बोहराले २४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। अब सुदूरपश्चिमले अन्तिम खेल नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ।

कोसीको सुखद अन्त्य  

कोसी प्रदेशले मंगलबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ। नवौं खेलमा कोसीको यो पहिलो जित पनि हो। यद्यपि, यो जितका बावजुद कोसी लिगको पुछारको टोली रहनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोसीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रनमै अलआउट भयो। लुम्बिनीका दिलसान अलीको ३२ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

भरत भण्डारीले २८ रन, कृष्ण कार्कीले २२ रन, सम्राट भुसालले २६ रन जोडे। कोसीले कसिलो बलिङसँगै विकेट लिएपछि लुम्बिनीले हार बेहो¥यो। सौजन घिमिरेले १० ओभरमा तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। अभ्यास तिमल्सिना, समीर कार्की र कमल खत्रीले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोसीले खराब सुरुआतसँगै ४४.४ ओभरमा सबै विकेट गुमाउँदा १७२ रनको योगफल बनाएको थियो। कप्तान अंकित सुवेदी सर्वाधिक ४९ रन, सौजनले ४३ रन र मिनाश थापाले २५ रन बनाए।

त्यसबाहेक अन्य ब्याटर चल्नै सकेनन्। सौजन खेलको प्लेयर अफ अफ दी म्याचसमेत घोषित भए। लुम्बिनीको बलिङमा नर सार्कीले १० ओभरमा दुई मेडनसहित चार विकेट लिए। वीर मगरले तीन तथा अभिषेक गौतमले दुई विकेट लिए।

प्रकाशित: १७ माघ २०८० ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App