खोटाङको केपिलासगढी गाउँपालिकास्तरीय ‘अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ को उपाधि पृथ्वी मावि बाक्सिलाले चुमेको छ। आईतबार सम्पन्न प्रतियोगितामा बाक्सिलाको पृथ्वी मावि २३ स्वर्ण, १० रजत र ७ काँस्य पदकसहित प्रथम हुन सफल भएको हो।
आफ्नै खेल मैदानमा सम्पन्न प्रतियोगितामा उपाधि जित्दै पृथ्वी मावि ४५ हजार पुरस्कारसमेत लिन सफल भएको छ। प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र १० काँस्य पदकसहित बाक्सिलाकै जालपा मावि दोस्रो भएको छ भने १ स्वर्ण, ४ रजत र २ काँस्य पदक जितेको सूर्य मावि सुङ्देल तेस्रो भएको छ। शुक्रजित मावि १ स्वर्ण र ३ रजत पदक पाउँदै सान्त्वना स्थान लिन सफल भएको छ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष समिर राईलगायतले विजेता विद्यालय र खेलाडीहरुलाई सिल्ड, मेडल, पुरस्कार र प्रमाणपत्र वितरण गरे। जसअनुसार विजेता पृथ्वी माविलाई सिल्ड, मेडल, नगद र प्रमाणपत्र अध्यक्ष राईले प्रदान गरे भने दोस्रो जालपा माविलाई ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिए।
त्यस्तै तेस्रो स्थान पाउने मावि सुङदेललाई ३५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए।
प्रतियोगितामा एथलेटिक्सतर्फ सर्वाेत्कृष्ट स्थानीय छात्रा छात्र दुवैतर्फ पृथ्वी माविका मनुषा राई र रोचक राई घोषित भए। भलिबलतर्फ पनि पृथ्वी माविकै छात्रा सुनिता खत्री र कुहुडाँडा माविका छात्र सरोज राई सर्वाेत्कृष्ट खेलाडी ठहरिएका छन्।
उत्कृष्ट मार्चपास गर्नेमा पनि पृथ्वी मावि बाक्सिलाले नै रेकर्ड राख्न सफल भएको छ। अनुशासित विद्यालयतर्फ रेणुका मावि दिप्सुङ छानिएको खनालले बताए। उत्कृष्ट र अनुशासित विद्यालयको उपाधि पाएवापत दुवैले नगद ५-५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
गाउँपालिकाभित्र सञ्चालित विभिन्न ८ वटा माविको सहभागिता रहेको प्रतियोगितामा सान्त्वना स्थान लिने विद्यालय र स्थान नपाउने ४ विद्यालयलाई प्रतियोगितास्थलसम्म आउजाउ गर्न र व्यवस्थापन खचर्तस्वरुप २५÷२५ हजार प्रदान गरिएको छ।
तीन दिनसम्म चलेको प्रतियोगितामा छात्राछात्र दुवैतर्फ १ सय २ सय ४ सय, ८ सय, १६ सय र ३ हजार मिटर दौड गराइएको थियो। त्यसैगरी १ सय मिटर र ४ सय मिटर रिले दौडमा प्रतिस्पर्धा गराइएको थियो। त्यसैग्री सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प र भलिबलमा छात्रा–छात्र दुवैतर्फ स्पर्धा गराइएको थियो।
प्रतियोगितामा संघीय सरकारको सशर्त अनुदानवापतको १ लाख बजेट र गाउँपालिकाको ७ लाखसहित ८ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा स्वर्ण विजेता खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन पाउनेछन्। गत वर्षको ‘जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०७९’ मा केपिलासगढी गाउँपालिका प्रथम भएको थियो।
प्रकाशित: १० माघ २०८० ०५:४२ बुधबार