फुटबल खेल्ने रहर सानै देखिको हो, सरिता नाथको। तर आफन्तले त्यो रहर पुरा गर्न कहिल्यै अनुमति दिएनन्। न आर्थिक अवस्था नै साथ दियो। अरूले फुटबल खेलेको देखेर उनले मोजाको बल बनाएर घरको आँगन र सडकको छेउछाउमै फुटबल खेल्ने गर्थिन्। त्यो पनि आफन्तले थाह नपाउने गरी। घरका मान्छे काममा गएको मौका पारेर।
सरिताको बाल्यकाल कैलालीको अत्तरियामा बित्यो। पहाडबाट गएका आफन्तहरू छाप्रावाला घरमै जीवन काट्थे। कक्षा १ देखि ५ सम्म त्यहीको विद्यालयमा पढिन् र त्यतै हुर्किन्। १० वर्षकै उमेरमा उनलाई फुटबल खेल्ने रहर जागिसकेको थियो। तर घरबाट त्यो सम्भव थिएन।
११ वर्षको उमेरमा उनी आफ्नो जन्मघर बडीमालिका नगरपालिका २ घागर फर्किन्। बुबा नेपाली नेपाली सेनामा जागिर थिए। आफू पछिका दुई दिदी भाइ र आमाका पालनपोषणको जिम्मा सबै एक्ला सिपाही पदको भरमा थियो। कक्षा ६ देखि १० सम्म मार्तडी स्थित क्रियटर जोन ऐकेडेमीमा अध्ययन सुरु गरिन्।
त्यो समयसम्म पनि उनको फुटबल खेल्ने धोका पुरा भएको थिएन। मोजाको बल बाहेक खुट्टामा गुडाउन पाएकी थिइनन्। बल किन्न हार गुहार गर्थिन्, आफन्तले पढाइ बाहेक अर्कोमा ध्यान दिन अनुमति नै थिएन। जब रानीवन स्पोट्स् क्लबले मार्तडीमा रानीवन कप आयोजना गर्यो, र क्रियटर जोन ऐकेडेमीले महिला टिम बनायो । पहिलो पटक सरिता टिममा परिन्।
त्यही खेल सरिताका लागि पहिलो र फुटबल खेल्ने सुरुवादको खेल थियो। त्यो पनि साथीहरूले सरिताले नि फुटबल खेल्छ, टिममा राख्नु, भनेर सरलाई नै भनिदिएको उनी सम्झिन्छिन्। फुटबल र खेलकुदको बारेमा थाहै नभएको परिवारमा जन्मिएकी तीनै सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन्। जो उनी र उनको परिवारका लागि सपनामा पनि नसोचेकै सफलता हो।
आगामी फेब्रुअरी २ देखि ८ सम्म बङ्गलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट नै खेल खेल्न पाउने छन्। राष्ट्रिय जर्सी सहित अन्तर्राष्ट्रिय फुटबल खेल्ने सरिता बाजुराको पहिलो हुन्।
छनोट सूची सार्वजनिक गरेकै दिन सरिता १८ वर्षको उमेर पुरा गरिन्। जन्मदिन नै जीवनमा ठुलो सफलता हासिल हुने दिनको रूपमा पाएँ, धेरै खुसी छु, एन्फाको बन्द प्रशिक्षणमा रहेकी सरिताले जानकारी गराएका छन्।
सरिताले घरकासँग माग गरे अनुसारकै विद्यालय र फुटबलका लागि उपयुक्त अवसर कहिल्यै पनि पाइनन्। घरकाले पनि कहिल्यै सरिताले फुटबल खेल्ने गरेको थाहै पाएनन्। सकेसम्म कुनै खेलकुदमा भाग नलिनु र छोरी मान्छेले खेल खेल्दा राम्रो हुदैन् भन्ने मान्यता नै समाजमा अहिले पनि देखिन्छ।
जब एसइई सकाएर ११ र १२ कक्षा अध्ययनका लागि सरिता धनगढी गइन्। एक्सेस विद्या आश्रममा विज्ञान विषय लिएर पढ्न थालिन्। उनले आफ्नो रुचिको खेल फुटबल मोह त्याग्न सकिनन्। घरकाले नजानु भने पनि उनले थाहै नदिई धनगढी रङ्गशाला जाने र फुटबल खेल्न थालिन्।
एक वर्षको लगातारको अभ्यास पछि सरिताले जीवनकै ठूलो सफलता हात पारेकी छन्। जुनसुकै खेल र खेलाडीका लागि त्यो देशको राष्ट्रिय टिमबाट खेल्नु अन्तिम लक्ष्य वा गन्तव्य हुन्छ। सरिताले त्यो लक्ष्य १८ वर्ष पुगेकी दिन भेटाएकी छन्। २३ जनाको टिममा सुदूरपश्चिमबाट ८ जना समावेश छन्। र पनि सरिताले आफू टिम ११ मा पर्ने विश्वास गरिन्। 'मेरो खेल, स्टामीना पनि राम्रै छ। देशका लागि पहिलो अवसरलाई सकेजति सदुपयोग गर्छु', सरिताले भनिन्।
अभ्यास र निरन्तरताले नै सबैथोक दिने रहेछ, सरिताले बाजुरामा आयोजना हुने खेलमा भाग लिएको कुरा स्मरण गर्दै खुसी व्यक्त गरिन्। सरिताका आफन्तले थाहै नदिएको सफलता भनेका छन्। यो स्थान प्राप्त गर्दासम्म हामीलाई समेत कुनै थाहै थिएन। छनोटको समाचार र छोरीले खबरसँगै गरेको आमाले बताएकी छन्।
'रानीवन र क्रियटरले आयोजना गर्ने खेलमा जहिले पनि भाग लिन्थ्यौँ, गएको तिहारमा केपी बा स्पोर्टस् क्लबसँग मिलेर आयोजक भएर खेल आयोजना गरियो। त्यो महिला फुटबलमा खेलाडीको आकर्षण बढाउन थियो, सबैको साथ रह्यो, त्यही सहकार्यले यहाँ पुगेकी छु, थप सहयोग चाहिरहनेछ, सरिताले थपिन्।
मोजाको बल बनाएर फुटबल खेल्ने सरिता नेपालको राष्ट्रिय टिममा परेपछि घर परिवार सहित सिङ्गो बाजुराका लागि गर्वको विषय बनेको छ। फुटबल नखेल्नु भन्ने घर परिवार जति खुसी अरू कोही छैनन्, सरिताले खुसी हुँदै भनिन्।
सरितालाई पनि गरिबी र अभावले फुटबल मोह र सफलता हात पार्न कहीँ कतै रोकेन। बरु निरन्तरताको सङ्घर्षले सफलता दिलाई छोड्यो। अब बाजुराकी सरिता नेपालको जर्सीमा देशका लागि खेल्नेछन्। त्यो पनि अरू देशका विरुद्ध मैदानमा उत्रिएर नै। गुमनाम सरिता अब देशका लागि खेल्नेछन्।
सुदूरपश्चिमबाटै नेपाली टोलीमा लिला जोशी, रोजिता विष्ट, सरिता कुमारी नाथ, सिता रोकाया, गंगा रोकाया, बिर्सना चौधरी बर्षा ओली र लिला चन्द्र सहित ८ जना छनोटमा परेका छन्।
एउटै टोलीमा सुदूरपश्चिम प्रदेशबाट छनोटमा परेको यो नै अहिलेसम्मकै ठूलो संख्या रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फाका सदस्य अनिल मल्लले जानकारी दिएका छन्। सबैको सहयोग र सहकार्यबाटै फुटबल इतिहासमा सुदूरपश्चिमबाट निकै राम्रो हुँदै गएको मल्लको भनाई छ।
यो छनोट संख्याबाटै सुदूरपश्चिम महिला फुटबल खेलाडीका लागि हब नै स्थापित भएको छ। प्रदेश स्तरमै महिला एकेडेमीको लागि एन्फाले कार्यक्रम ल्याउनु पर्नेमा सदस्य मल्लको जोड छ। सुदूरपश्चिममा फुटबल क्षेत्रमा कम लगानीका बाबजुद पनि बढ्दो आकर्षण र सफलताले ऐकेडेमीको आवश्यकता महसुस गराएको मल्लको दाबी छ।
प्रकाशित: ५ माघ २०८० ११:३४ शुक्रबार