१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

१७ वर्षपछि फेरियो पोखरा म्याराथनको रुट

पोखरा म्याराथन। तस्बिरः फाइल फोटो

अबको एकमहिना पछि पोखरामा अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुदैछ। प्रतियोगिताको महिनादिन अघि मात्रै आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई बदलेको छ। १७ वर्षपछि म्याराथनको रुट फेरिएको हो।  

१८ औं संस्करणमा आईपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदैै म्याराथन पुरा गर्नेछन्। शुरुवात पोखरा रंगशालाबाट हुनेछ। समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौर(साईट)मा हुने छ। आगामी फागुन ५ गते आयोजना हुनेछ।  

भुतपूर्व खेलाडी मञ्चले एक महिना अघि मात्रै नयाँ रुटका खोजीमा अध्ययन शुरु गरेको थियो। पुरानो रुट अधिकांश राजमार्गमा हुदैं दौडिनुपर्ने बाध्यता थियो। राजमार्ग भएकै कारण निकै जोखिम थियो। सवारीकै कारण ट्राफिक व्यवस्थापनमा समस्या, धुलो र धुवाँले धावकलाई असर परेको जनाउँदै मञ्चले नयाँ रुट खोजी अभियान गरेको थियो। ‘पुरानो रुटमा राजमार्ग थियो। धुलो र धुवाँ उस्तै अनि ट्राफिक व्यवस्थापनमा समस्याले नयाँ रुट पहिचान गर्यौं,’ भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘धावकलाई प्रकृति र संस्कृति देखाउने योजना अनुसार नयाँ रुट तय गरिएको छ।’ उनका अनुसार नयाँ रुटलाई गुगल म्यापमा समेत सर्च गर्न सहज हुनेछ।  

दौड पोखरा रंगशालाबाट शुरु हुन्छ। तीन किलोमिटर राजमार्ग दौडिदैं पोखराको औद्योगिक क्षेत्रभन्दा केही पर पुगेर उत्तर तर्फ कदम मार्गको बाटो हुदैं उक्लिने छ। कदम मार्गबाट विपी मार्ग, गौंडाकोमुख, भद्रकाली, सयपत्री चोक(रानीपौवा), जनताचोक, पहेलो पुल तरेर धावक पृथ्वीनारायण क्याम्पस तर्फ उक्लिने छन्। क्याम्पसबाट सिम्पानी चोक, हरिचोक, जिरोकिलोमिटरबाट हल्लनचोक पुग्नेछ। हल्लनचोकबाट खहरे, खपौदी, पामे हुदैं घाँटी छिना पुगेर धावक फिर्ता हुनेछन्। घाँटीछिनाबाट फर्केर हल्लनचोकस्थित क्याम्पिङचौर(साईट)मा पुगेर धवकले म्याराथन पुरा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए।  

मञ्चले महिला हाफ म्याराथनको रुट समेत परिवर्तन गरेको छ। महिला हाफ म्याराथनमा पनि सोही रुट दौडिने छन्। यद्यपी महिला धावकले खहरेभन्दा केही पर खपौदीस्थित रोटरीको बोर्डबाट फर्किएर क्याम्पिङ चौरमा टुंग्याउने छन्। १० किलोमिटर खुल्ला दौडको रुट भने पोखरा रंगशालाबाट शुरु भई रानीपौवास्थित दुरसञ्चार हुदैं महेन्द्रपुल, वि.पी चोक, सिदार्थचोक, पस्र्याङचोक, जिरोकिलोमिटर, हल्लनचोक हुदैं क्याम्पिङचौरमा पुगेर समापन हुने अध्यक्ष पराजुलीले जानकारी दिए। म्याराथनमा १० देशका धावकहरुले नाम दर्ता गरिसकेका छन् । उनका अनुसार बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, जापान, साउदी अरेबिया, ताईवान र बेलायतका धावकहरुको नाम दर्ता भईसकेको छ।

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथन विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ। द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ। खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ।

महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ५ किलोमटिर छात्र/छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

प्रकाशित: १ माघ २०८० १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App