४ माघ २०८२ आइतबार
image/svg+xml
खेल

दोलखा र भक्तपुरबीच फाइनल प्रतिस्पर्धा

क्याप्शन

दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा जारी प्र्रतियोगितामा शुक्रबार आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै चेस होम र भक्तपुर जिल्ला संघ फाइनलमा पुगेका हुन्।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

दोलखाले मकवानपुरमाथि २.५–१.५ को जित निकाल्यो। यस क्रममा वर्तमान नेपाल च्याम्पियन रूपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकियो। सुश्रुत दाहाल सिन्देश्वर दाससँग हारे ।

मुहाननरसिंह श्रेष्ठले सुदेन तुइतुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित निकाल्दै दोलखालाई फाइनलमा पुर्‍याए। नकआउट चरणको दोस्रो खेलमा भक्तपुर जिल्लाले भने कोसी प्रदेश बुद्धिचाल संघमाथि टाइब्रेकरमार्फत जित निकाल्दै दोलखासँगको भेट पक्का गरेको हो। यी दुईबीच क्लासिकल चरण बराबरीमा सकियो र खेल टाइब्रेकरमा धकलियो। जहाँ भक्तपुर सफल भयो।भक्तपुरले कोसी प्रदेशलाई टाइब्रेकरका चारवटै खेलमा पराजित गर्‍यो।

क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुषोत्तम सिलवाल र कोसीका प्रकाशचन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोसीका मिसन दाहालबीचको खेल बराबरीमा सकियो। भक्तपुरका राजेश कक्षपति कोसीका सविनचन्द्र घिमिरेसँग पराजित भए।

अभिक शाहले कोसीका कृतिशारा अधिकारीमाथि जित निकालेपछि आफ्नो टोलीलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई टाइबे्रकरमा पुर्‍याएका हुन्। टाइब्रेकरमा भक्तपुरका पुरुषोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोसीका प्रकाशचन्द्र नेपाल, सविनचन्द्र घिमिरे, मिसन दाहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै ४–० को नतिजासहित भक्तपुरलाई फाइनलमा पुर्‍याए।

प्रतियोगिताको फाइनल शनिबार नै हुनेछ।राष्ट्रियस्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टोलीले दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टोलीले ६० हजार र चौथो हुने टोलीले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।प्रत्येक बोर्डमा पहिलो हुने चार खेलाडीले जनही १० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: २८ पुस २०८० ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App