मिलान – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार इटालीका कप्तान जियानलुइगी बुफोनलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने इच्छा भए पनि टोली प्रतियोगितामा छनोट हुन असफल भएपछि दुखी भएको खुलासा गरेका छन्।
‘इटाली विश्वकपमा छनोट नहँुदा म निकै दुखी छु । म रोएको थिए,’ स्विस र इटालीको दोहोरो नागरिकता लिएका इफान्टिनोले भने, ‘हामीले यस पटकको विश्वकपमा एउटा यस्तो टोलीको अनुपस्थिति महसुस गर्र्नेछाैं, जुन टोलीले हरेक विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो औचित्य प्रमाणित गर्दै आएको छ।’
‘म बुफोनलाई विश्वकप ट्रफी हस्तान्तरण गर्न चाहन्थें, तर अब त्यो इच्छा अधुरो रहनेछ,’ इन्फान्टिनोले थपे।
गत नोभेम्बरमा प्लेअफको पहिलो लेग १–० ले गुमाएको इटालीले दोस्रो लेग बराबरी खेल्दै विश्वकप यात्रा टुङ्गिएपछि बुफोनले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास घोषणा गरेका थिए।
‘विश्वमा फुटबल संघ गठन गर्नुका साथै घरेलु संरचना निर्माण गर्ने इटाली पहिलो टोली हो । तर हामीले मेहनत र अवसरबिना क्षमताको कुनै अर्थ छैन भन्ने बिर्सियौं,’ इन्फान्टिनोले भने, ‘कति जना युवा खेलाडीले सिनियर टोलीमा स्थान बनाए ?’
राष्ट्रिय ओलम्पिक कमिटीको नियन्त्रणमा भएको इटालियन फुटबल संघ अध्यक्षविहीन छ र राष्ट्रिय टोली पनि हाल मुख्य प्रशिक्षकबिना रहेको छ । इन्फान्टिनोले इटालीमा जारी फुटबल गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे।
‘एक वा दुई जनाले इटालीको समस्या समाधान गर्न सम्भव छैन । फुटबल संघमा यस्तो अध्यक्षको आवश्यक छ, जसलाई सबै पक्षको साथ चाहिन्छ र उनीहरूसँग दुरगामी रणनीति हुनपर्छ,’ इन्फान्टिनोले भने ,‘सबैले आफ्नो हठ त्याग्ने हो भने विश्वकप र कन्फेडेरेसन कप जित्न असम्भव छैन।’
प्रकाशित: ४ फाल्गुन २०७४ ०४:४३ शुक्रबार