१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चीनसँग केही खेलबाट सहकार्य गर्ने चाहना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औं एसियाली खेलकुद आयोजक कमिटीका उपसचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन्।

सदस्यसचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा घिसिङले उक्त प्रस्ताव राखेका हुन्।

‘सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौं। कुनकुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरूलाई सम्पर्क गर्छौं,’ सदस्यसचिव घिसिङले भने।

सदस्यसचिव घिसिङले १९औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाई समेत दिए।

साथै उनले झेजियाङ प्रदेशले खेलकुद, आर्थिक लगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताए। सदस्यसचिव घिसिङले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेरसमूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको प्रसंगसमेत कोट्याए।

निर्देशक झेङ याउले भने १९औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहजनक रहेको उल्लेख गर्दै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने रहेको प्रस्ट पारेका थिए।

झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिक लगायत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्दै उनले छलफललाई निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायत उपस्थित थिए।

प्रकाशित: २१ पुस २०८० ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App