१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

धनगढीको दोस्रो प्रयासमा ललितपुरको चुनौती

ललितपुरका सिटीका कप्तान अनन्त तामाङ (बायाँ) र धनगढी एफसीका कप्तान देवेन्द्र तामाङ ट्रफीका साथ। तस्बिर : एनएसएल

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ विजेता पाउँदा धनगढी र ललितपुर सिटी एफसी दुवै उपाधि जित्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रँदै छन्।

फाइनलसम्म यात्रा तय गर्दा धनगढीले एक खेल मात्र गुमाएको छ भने ललितपुर सिटीले दुई खेलको नतिजा सुम्पिएको थियो। यद्यपि, ललितपुर सिटी कमजोर भने होइन। लिगको अन्तिम खेलमा जुन टोलीसँग हार बेहोर्दै चौथो स्थानमा खुम्चिएको थियो, त्यो टोलीविरुद्ध ललितपुरले साहसिक प्रदर्शन गरेको छ।

काठमाडौं रेजर्ससँग लिगको अन्तिम खेलमा १-० ले पराजित ललितपुर सिटीले इलिमिनेटरमा भने सोही टोलीमाथि ३-० को जित निकालेको ताजै छ। एक दिनपछि नै अर्को खेलमा (दोस्रो क्वालिफायर) त ललितपुर सिटीले सनसनी नै मच्चायो। ललितपुर सिटीले फाइनलसम्म यात्रा तय गर्दा पोखरा थन्डर्ससँग यादगार प्रदर्शन गरेको छ।

त्यो हो, करिब ९० मिनेटसम्म एक खेलाडीबिना खेल्दै ललितपुर सिटीले पोखरा थन्डर्समाथि निकालेको २-१ को जित। ललितपुर सिटीले यो सफलता निकाल्दा पोखरा थन्डर्सको जितमा मुख्य हतियार बन्दै आएका जोए आइडु, आयुष घलान र मोसेस ग्याबा तुमलाई चल्नै दिएनन्।

यद्यपि, मोसेसले चोटका कारण ८१औं मिनेटमा मैदान छाडेका थिए। यस क्रममा ललितपुरले एक खेलाडीबिना पनि ती स्टारलाई कुनै स्पेस नै दिएनन्। ‘लाखे’ उपनाम पाउँदै आएको ललितपुर सिटीका रक्षापंक्ति अब्बल साबित भयो।

धनगढी एफसीका प्रशिक्षक युगलकिशोर राईले १० खेलाडीमै सीमित हुँदा पनि ललितपुर सिटीले जित निकालेको सन्दर्भ उल्लेख गर्दै फाइनलको प्रतिद्वन्द्वी राम्रो टोली रहेको धारणा राखे। लिगमा गोल स्कोरिङमा चुक्दा ललितपुर सिटीले चार खेल बराबरी गरेको थियो।

यद्यपि, पछिल्ला प्लेअफमा ललितपुर सिटीको त्यो समस्या हटेको देखिन्छ। प्लेअफको दुई खेलमा गरेर ललितपुर सिटीले पाँच गोल गरिसकेको छ। रक्षापंक्ति र मिडफिल्डमा राम्रो गर्दै आएको ललितपुर सिटीलाई पछिल्ला दुई खेलले थप बलियो बनाएको छ।

ललितपुर सिटीको फाइनल यात्रामा विदेशी गोलकिपर जेफ्री विली मार्सलको पाँच क्लिन सिटको योगदान पनि छ। त्यसैले दोस्रो प्रयासमा उपाधि जित्ने लक्ष्य राखेको धनगढीका लागि सन्तुलित ललितपुर सिटी चुनौती बन्न सक्छ।

तथापि, पछिल्ला ६ दिनमा तीन खेल खेलेको ललितपुर सिटीका खेलाडीका लागि सहज भने हुने छैन। धनगढीले पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमार्पmत पोखरा थन्डर्समाथि ४-३ को जित निकाल्दै दोस्रो पटक फाइनलमा पुगेको हो। यसबीच धनगढीले भने पाँच दिन आराम पाउनेछ।  

तर, साविक उपविजेता धनगढी एफसीका प्रशिक्षक युगलकिशोरले भने शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा तयार खेलाडीले नै जित्ने बताउँछन्। ‘एनएसएलमा मैले अल्छी र टप फुटबल खेल्ने टोली देखें। भाग्यले पनि टप खेल्ने टोलीलाई नै साथ दिएको छ। ललितपुर राम्रो टोली हो।

किनकि १० खेलाडीमै सीमित हुँदा पनि जित निकालेको छ। फुटबल टिम गेम भए पनि व्यक्तिगत प्रदर्शनले निकै अर्थ राख्छ,’ राईले भने,‘हामीले उनीहरूको भन्दा बढी आराम पाएका छौं। तर, जसका खेलाडी मानसिक रूपमा तयार हुन्छ। त्यो बलियो देखिन्छ। तथापि, थकानको केही फाइदा भने पक्कै मिल्छ।’  

ललितपुरको जितका आधारमध्ये इमोन इजिकेल पनि हुन्। उनी ललितपुर सिटीका सर्वाधिक (१० खेलमा चार गोल) गोलकर्ता पनि हुन्। तर, मिडफिल्डमा दरिलो साथ दिँदै आएका भारतीय खेलाडी निखिल कदम रातो कार्डका कारण फाइनलमा भने उपस्थित हुने छैनन्। त्यसको असर ललितपुरलाई पर्न सक्छ। तर, ललितपुर सिटीका प्रशिक्षक इयान गिलानले कमदको अभाव नखड्किने दाबी गर्दै उनको प्रतिस्थापना युवा खेलाडीले गर्ने बताए।  

कप्तान अनन्त तामाङ भने पछिल्ला दुई खेलबाट सकारात्मक सन्देश दिएको उल्लेख गर्दै फाइनल जित्नेमा विश्वास गर्छन्। यद्यपि, अनुभवी रक्षापंक्ति र अग्रपंक्तिको साथ पाएको धनगढीविरुद्ध जित निकाल्नु ललितपुर सिटीका लागि सहज भने हुने छैन। धनगढीमा ६ जना अनुभवी विदेशी खेलाडी छन्।

घरेलु लिगमा अब्बल ठहरिएका ओलावाले अफिज, अहमद हिजाजी र फोडे फोफना धनगढीका हतियार हुन्। युरोपा लिग खेलिसकेका डियाग्ने फलोउ र जारी लिगमा एउटा पनि कार्ड सामना नगरेका कप्तान देवेन्द्र तामाङको बलियो रक्षापंक्ति पनि धनगढीको फाइनल यात्रा सफलताका महŒवपूर्ण सदस्य हुन्।

गोलकिपर मोहम्मद ताहासँगै राष्ट्रिय टोलीका सदस्य आशिष चौधरीको साथले धनगढीले लगातार दोस्रो पटक उपाधि भिडन्त तय गरेको हो। बेन्चमा पनि उत्तिकै बलियो देखिए पनि प्रशिक्षक युगलकिशोरले उनीहरूको रोटेसन (प्रयोग) कम गर्दै आएका छन्। फाइनलमा भने त्यो सम्भावना पनि रहने उनको बताए।

साथै उनले पहिलो संस्करणको फाइनलमा गरेका गल्तीलाई सुधार गर्दै यस पटक उपाधि उचाल्ने लक्ष्य लिएका छन्। शुक्रबार फाइनलअघिको पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन्। पहिलो संस्करणको फाइनलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित हुँदा धनगढी उपाधिबाट वञ्चित भएको थियो।

‘पहिलो संस्करणमा धेरै गल्ती गर्‍यौं। त्यो गल्ती यस पटक दोहोर्‍याउदैनौं। उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं,’ उनले भने। धनगढीका कप्तान देवेन्द्र तामाङ पनि जित्नैका लागि मैदान उत्रिने बताउँछन्।

‘जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं। ललितपुरविरुद्धको सहज हुने छैन,’ देवेन्द्रले भने, ‘कप्तानको रूपमा ट्रफी उचाल्ने लक्ष्य छ। टोलीको रणनीतिअनुसार राम्रो फुटबल खेल्छौं।’ २०७८ सालमा सम्पन्न पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले ३५ लाख र उपविजेता धनगढीले १५ लाख रूपैयाँ पाएका थिए।  

अखिल नेपाल फुटबल संघ(एन्फा) भित्रको राजनीतिका कारण साढे दुई वर्षभन्दा बढी समय एनएसएलको दोस्रो संस्करण हुन पाएन। पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। दोस्रो संस्करणमा भने तीन डेब्युटेन्टसहित ९ टोलीले प्रतिस्पर्धा गरे। यस पटक पुरस्कार राशिमा पनि वृद्धि भएको छ।

यसपटक विजेताले ७० लाख रूपैयाँ पाउँदा उपविजेता २० लाख रूपैयाँमा चित्त बुझाउनुपर्नेछ। धनगढी र ललितपुर सिटीबीच लिग चरणमा गोलरहित बराबरीको नतिजा निस्किएको थियो। तथापि, यस पटक दुवै टोली जित निकाल्दै एनएसएलको उपाधि  स्वाद चाख्ने लक्ष्यमा छन्।

प्रकाशित: १४ पुस २०८० ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App