२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एनएसएलले नयाँ विजेता पाउने

काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि ललितपुर सिटीका पापा केबे। तस्बिर : एनएसएल

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।

इलिमिनेटरको प्रतिस्पर्धामा काठमाडौं रेजर्सले पूर्ण दबाबमा रहेर खेल्दा ललितपुर सिटीलाई ३-० ले नतिजा सुम्पिएसँगै एनएसएलको दोस्रो संस्करणमा नयाँ विजेता आउने भएको हो। ललितपुरको जितमा तीनै गोल विदेशी खेलाडीले गरेका हुन्। इमोन इजिकेलले दुई र पापा केबेले एक गोल गरेका थिए। दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धामा ललितपुर सिटीले काठमाडौं रेजर्ससँग लिगचरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। लिगमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि १-० को जित निकाल्दा प्लेअफमा स्थान बनाएको थियो।

यो नतिजासँगै काठमाडौं रेजर्सले तेस्रो र ललितपुर सिटीले चौथो स्थानमा रहेर इलिमिनेटरको प्रतिस्पर्धा तय गरेका हुन्। तर, इलिमिनेटरमा बिर्सनलायक प्रदर्शन गरेपछि काठमाडौं रेजर्सको उपाधि रक्षा गर्ने लक्ष्य पूरा हुन सकेन। कप्तान तथा डिफेन्डर अञ्जन राईले दोहोरो पहेंलो कार्ड सामना गरेपछि काठमाडौं रेजर्सले अन्तिम १६ मिनेटसम्म एक खेलाडीबिना नै खेल्यो। तर, थप गोल भने नबेहोरे पनि ललितपुर सिटीलाई ३–० ले नतिजा सुम्पिन बाध्य भयो।  

गत सिजन पनि ललितपुर सिटीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। तर, दोस्रो क्वालिफायरमा ललितपुर सिटीले काठमाडौं रेजर्ससँग नै ३-० ले हार बेहोरेको थियो। यस पटक भने ललितपुरले काठमाडौं रेजर्ससँग बदला लियो। ललितपुर सिटीले अब बिहीबार दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ। पोखरा थन्डर्सले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा हार बेहोरेपछि सीधै फाइनलको यात्रा तय गर्ने अवसर गुमाएको थियो।  

यस सिजन उपाधि होडबाट बाहिरिएपछि काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले डिफेन्डिङ च्याम्पियनको रूपमा उपाधि जोगाउने लक्ष्य रहे पनि सफल हुन नसकेको बताए। ‘डिफेन्डिङ च्याम्पियन भएर उपाधि जोगाउन चाहन्थ्यौं, लक्ष्यअनुरूप हुन सकेन। यस पटक मेरो टोलीमा स्वदेशी खेलाडीहरू त्यति अनुभवी थिएनन्। यद्यपि, यहाँसम्म यात्रा तय गर्‍यौं।

समग्रमा मेरो टोलीले राम्रै खेलेको हो,’ प्रशिक्षक महर्जनले भने, ‘रेफ्रीको निर्णयबाट म सन्तुष्ट छैन। पहिलो गोल अफसाइड थियो, तर दिएनन्। त्यसले पनि खेलको रूप केही बदलियो।’ ललितपुर सिटीका प्रशिक्षक इयान आन्द्रे गिलानले भने योजनाअनुरूप प्रदर्शन भएको बताए। ‘हाम्रो योजना मिडफिल्डबाट प्रेस गर्ने थियो। उनीहरूलाई दबाब दिएर खेल्ने योजनाअनुरूप मेरा खेलाडीले खेले र जित सम्भव भयो,’ प्रशिक्षक इयानले भने।

ललितपुरले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल थप्यो। दोस्रो हाफमा काठमाडौं रेजर्स दबाबमा रहेर खेल्न बाध्य भयो। त्यसअघि दिनेश हेन्जनले १५औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमाउँदा ललितपुर सिटी खेलमा अग्रता बनाउन चुक्यो। इमोन इजेकिलले काठमाडौं रेजर्सका डिफेन्डरलाई बिट गराउँदै दिएको पासमा अनमार्क दिनेश सहज गोल गर्न असफल भए।ललितपुर सिटीले ३६औं मिनेटमा इजेकिलको गोलबाट अग्रता लियो। दुई मिनेटपछि नै काठमाडौं रेजर्सका सोखरुखको फ्रिकिक प्रहार ललितपुर सिटीका गोलकिपर जेफ्री विली मार्सलको चुनौती बनेन।

४३औं मिनेटमा आदित्य शाक्यले लेफ्ट साइडबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अञ्जल श्रेष्ठले पन्च गर्दै बाहिर पठाइदिए। सोही क्रममा प्राप्त कर्नरबाट पापाले ४४औं मिनेटमा गोल गर्दै ललितपुर सिटीको अग्रता दोब्बर पारे। कर्नरबाट प्राप्त बललाई ललितपुर सिटीका कप्तान अनन्त तामाङको हेडर काठमाडौं रेजर्सका कुलदीप कार्कीले हेडमार्पmत क्लियर गरे पनि माथिल्लो बारमा डिफ्लेक्ट बललाई पापा केबेले गोलमा परिणत गराए।  

पहिलो हाफको थप समयमा इजेकिलले अग्रता बढाउने अवसर गुमाए र पहिलो हाफमा ललितपुर सिटी २-० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुआतमा इजेकिलले गोल गर्दै अग्रता बढाए। ५३औं मिनेटमा निखिल कदमको फ्रिकिकमा इजेकिलले हेडरमार्पmत सुन्दर गोल गरे। एक मिनेटपछि नै काठमाडौं रेजर्सको काउन्टर अट्याकमा एनकेङग्यु जुनियरले पेनाल्टी क्षेत्रबाट गरेको सट सन्जित राईको खुट्टामा ठोकिएर बाहिरिन पुग्यो। ६२औं मिनेटमा सोखरुखको फ्रिकिक पनि बारभन्दा केही माथिबाट बाहिरिपछि काठमाडौं रेजर्सको खेलमा फर्कने प्रयास सफल भएन।

तीन गोलले पछि परेको काठमाडौं रेजर्सले लगातार दबाब सामना गर्नुपर्‍यो। ७४औं मिनेटमा कप्तान अञ्जन राई दोस्रो पहेंलो कार्ड बेहोर्दै बाहिरिएपछि काठमाडौं रेजर्स थप दबाबमा प¥यो। ललितपुर सिटीका पापाको ८३औं मिनेमा पेनाल्टी बक्सबाहिरबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अञ्जलले सहजै रोके। इन्जुरी समयको पहिलो मिनेटमा पापाले पेनाल्टी बक्सबाट गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्।

उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो। अन्तिम समयमा काठमाडौं रेजर्सका गणेश हमाल लतिलपुर सिटीका विशाल सुनारसँग वान भर्सेस वानमा गोल गर्न चुके र डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स ३–० ले स्तब्ध भयो।

प्रकाशित: ११ पुस २०८० ००:४० बुधबार

नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण काठमाडौं रेजर्स ललितपुर सिटी