२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइतबारदेखि मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुँदैछ। 

प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीन दिन चल्नेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भलिबल छात्र तथा छात्रा, कबड्डी छात्र तथा छात्राको सहभागिता रहने छ। एथलेटिक्स अन्तर्गत ट्र्याक तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय मिटर दौडसँगै ३ हजार मिटर, एक सय तथा चार सय मिटर रिले दौड हुनेछ।

एथलेटिक्सकै फिल्ड तर्फ छात्र तथा छात्राको हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो (छात्र ८ सय ग्राम, छात्रा ६ सय ग्राम) र सटफुट (छात्र १२ पाउण्ड, छात्रा ८ पाउण्ड) मा प्रतिस्पर्धा हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए। 

त्यसैगरी मार्शल आर्ट खेलमा कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुनेछ। कराँतेमा छात्र तर्फ ४२, ४७, ५२, ५७ र ६२ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। एकल कातामा समेत पदक प्रतिस्पर्धा हुने छ। छात्रा तर्फ ४०, ४५, ५०, ५५ र ६० किलो तौल मुनि प्रतिस्पर्धा हुने छ र एकल काता गराइने छ।  

तेक्वान्दो छात्र तर्फ ४५, ४८, ५१ ५५ र ५९ किलो मुनि र एकल पुम्सेमा प्रतिस्पर्धा हुने छ। छात्रा तर्फ ४२, ४४, ४६, ४९ र ५२ किलो मुनि र एकल पुम्सेको विधालाई समावेश गरिएको छ। उसुको थाउलो छात्र र छात्रा दुवै इभेण्टमा छान क्वान, नान क्वान र ताईची क्वानमा प्रतिस्पर्धा गराइने छ। सान्सौ तर्फ ४२, ४५ र ४८ केजी तौल समावेश गरिएको छ। भलिबल छात्र तर्फ ४९ टिम र छात्रा तर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ।

खेलाडीले एक फिल्ड दुई ट्र्याक तथा एक ट्र्याक दुई फिल्डमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ। भलिबल प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले नगद २०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्ने छ। 

त्यस्तै कबड्डी तर्फ १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। एथलेटिक्स एकल छात्र तथा छात्रामा ११ जना विजेताले ३/३ दोस्रोले २/२ हजार र तेस्रो हुनेले १–१ हजार रुपैयाँ प्राप्त गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ। कराँते, उसु र तेक्वान्दो तर्फ पनि विजेताले ३, २ र १ हजार रुपैयाँ पुरस्कार पाउने छन्। आइतबार पोखरा रंगशालामा हुने प्रतिस्पर्धाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने छन्।

प्रकाशित: ७ पुस २०८० ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App