१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

युथ अफ टीकापुर सेमिफाइनलमा

युथ अफ टीकापुरले शनिबार कैलाली मल्टिपल क्याम्पसलाई हराउँदै तीन जितका साथ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ‘बी’ को खेलमा शनिबार कैलाली मल्टिपल क्याम्पसलाई १६ रनले हराउँदै युथ अफ टीकापुर सेमिफाइनलमा पुगेको हो। युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याएको कैलालीले निर्धारित ११ ओभरमा सात विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

कैलालीका कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन जोड्दा पारस रोकायाले १२ रनको योगदान दिए। त्यो जितका लागि पर्याप्त भएन। युथ अफ टीकापुरका सुमित महर्जनले दुई विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १/१ विकेट लिए।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गरेको युथ अफ टीकापुरले सात विकेट गुमाएर ९४ रन बनायो। प्लेयर अफ दी म्याच घोषित टीकापुरका गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए।

केसीले २७ बलमा एक चौका र तीन छक्का प्रहार गरे। जैसीले २२ बलमा तीन चौका र एक छक्का प्रहार गरे। ३८/४ को अवस्थामा केसी र जैसीले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै टीकापुरको इनिङ उकासे। कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले २/२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए।

शनिबार नै भएको अर्को खेलमा गरुडा नगरपालिकाले पनि जित निकाल्यो। गरुडाले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले हरायो।

गरुडाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चलले २० ओभर नै खेले पनि आठ विकेट गुमाएर ७५ रन मात्र बनायो।

 सुदूरपश्चिमाञ्चलका निशान रेग्मीले १८ रन र सौर्य श्रेष्ठले १४ रन बनाउनुबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। गरुडाका बलर धर्मेन्द्र साहले चार ओभरमा चार विकेट लिँदा १२ रन मात्र खर्चिए।

नरेश शाह, रूपेश सिंह र नीतेश यादवले १÷१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर एक सय ७३ रन बनायो। गरुडाका रूपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए। उनले २९ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे।

 निश्चल विक्रमले अविजित ४३ रन बनाए। २३ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरे। ७६/६ को अवस्थामा रूपेश र निश्चलले ७४ रनको साझेदारी गर्दै इनिङ उकासे। सुदूरपश्चिमाञ्चलको बलिङमा पारस सुनार र सन्दीप विष्टले २/२ विकेट लिए।

प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १/१ विकेट लिए। आइतबार घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिकाबीच खेल हुँदा सत्यवती एकेडेमी र लिटल एन्जल्सबीच हुनेछ। लिटल फ्लावर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौं संस्करण हो।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता  रहेको छ।

प्रकाशित: २४ मंसिर २०८० ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App