२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: फेरि बराबरीमै रोकियो ललितपुर

ललितपुर सिटी एफसीका निखिल कदमविरुद्ध बल खोस्ने प्रयासमा धनगढीका अहमद हिजाजी। तस्बिर सौजन्य: विशाल पन्थ

साबिकको उपविजेता धनगढी एफसीको जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा विजययात्रा तेस्रो खेलमा पूर्णविराम लागेको छ। बलिया प्रतिद्वन्द्वीका रूपमा हेरिएका धनगढी र ललितपुर जारी सिजन तेस्रो खेलमा आएर गोल गर्न असमर्थ भएपछि नतिजा गोलरहित बराबरीमा नै टुङ्गिएको हो। यद्यपि, दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई रोमाञ्चकता भने प्रदान गरे।

खेलअवधिभर दुवै कयौं अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। यो बराबरीसँगै धनगढीले शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमायो। यता, ललितपुरले पनि अंकतालिकाको दोस्रो स्थानमा उक्लिने अवसर सदुपयोग गर्न सकेन। समान तीन खेलबाट धनगढीको सात अंक र ललितपुरको पाँच अंक छ।

वीरगन्ज युनाइटेडमाथि २–१ जितसहित सुखद सुरुआत गरेको धनगढी दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीमाथि पनि १–० ले नतिजा आफ्नो पक्षमा पार्दै यस सिजन पनि बलियो दाबेदार प्रस्तुत गरेको थियो। तर, त्यो विजययात्रा बलियो टोली ललितपुरसँग भने जारी राख्न सकेन।

 ललितपुरले पनि बुटवल लुम्बिनीमाथि २–० को सहज जितसहित यस सिजनमा सुखद सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा भने ललितपुर सिटी एफसीले बराबरीमा नै चित्त बुझाएको थियो। दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको ललितपुरले तेस्रो खेलमा पनि गोल गर्न सकेन।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता भने ललितपुर गोलविहीन छ।

पहिलो हाफमा ललितपुर हाबी देखियो। तर, दोस्रो हाफमा भने धनगढीले सुधारिएको प्रदर्शन गर्दै दबाब उल्टायो। यस क्रममा धेरै अवसर सिर्जना गर्दा दुवैका गोलकिपर पनि व्यस्त रहे। यो खेलमा गोलकिपरले नै म्यान अफ दी म्याच पाए।

ललितपुरका गोलकिपर जेफ्री बाल्टस म्यान अफ दी म्याचको हकदार भए। उनले खेलको तेस्रो मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिकलाई बचाएका थिए। ललितपुरले पहिलो आक्रमण गर्न १२औं मिनेटसम्म कुर्नुपर्‍यो।

ललितपुरका ओमोलाजा करिमको फ्रिकिकलाई पन्च गर्दै गोलकिपर मोहम्मद ताहाले धनगढीको संकट टारे। ३४औं मिनेटमा ललितपुरका कप्तान अनन्तको लामो क्रसमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्किन पुग्यो। सोही क्रममा रिबाउन्ड बलले गोलकिपर ताहालाई लागे पनि गोललाई क्रस नहुँदै उनले बल नियन्त्रणमा लिए।

त्यससँगै पहिलो हाफमा बराबरीमै सकियो। दोस्रो हाफको सुरुआती पाँच मिनेटभित्र धनगढीले तीन अवसर गोलमा परिणत गर्न सकेन। मिडफिल्डर रोहन कार्कीले दिएको सुन्दर क्रसमा अहमद हिजाजीको हेडर ललितपुरका गोलकिपर बाल्टसले बचाए।

४९औं मिनेटमा हिजाजीकै राइट फुटेड प्रहार बाल्टसले पुनः जोगाए। लगत्तै डिफेन्डर रिचर्ड अगेमाङको प्रहारले पोस्टको दिशा लिन नसक्दा धनगढीले अर्को अवसर गुमायो। ५९औं मिनेटमा मध्यभागबाट डिफेन्डर कमलको फ्रिकिक प्रहार पनि जेफेरीले बचाए। त्यस लगत्तै साइमोन लिम्बूले करिब २८ यार्डबाट गरेको शक्तिशाली प्रहारलाई करिमले क्लियर गरिदिए।

६५औं मिनेटमा इमोन इजेकिलको गोल अफसाइड भयो। पेनाल्टी बक्सबाहिरबाट दिनेश हेन्जनले गरेको प्रहार धनगढीका गोलकिपर ताहाले बचाउने क्रममा रिबाउन्ड बललाई इमोनले वान टच गोल गरेका थिए। ७५औं मिनेटमा धनगढीले अर्को अवसर गुमाउन पुग्यो।

 ओलावाले आफिजको स्थानमा आएका फोडे फोफानाको क्रसलाई हिजाजीले हेडरमार्पmत गोल गर्न सकेनन्। त्यसको १० मिनेटपछि फलो डियाग्नको प्रहार बाल्टुसले बचाउँदै ललितपुरको संकट टारे। त्यससँगै शनिबार दुई खेल नै बराबरीमा नै सकियो।

झापालाई पहिलो अंक

इन्जुरी समयमा डिफेन्डर सामान्डर ओकिलोभको गोल प्रेरणामा झापा एफसीले पोखरा थन्डर्ससँग हारको संकट टार्दै जारी एनएसएलको दोस्रो सिजनमा पहिलो अंक बटुलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जितको संघारमा पुगेको पोखरा थन्डर्सले इन्जुरी समय समय सकिन लाग्दा गोल बेहोरेपछि झापाले जारी सिजनमा पहिलो अंक बटुलेको हो। दोस्रो संस्करणबाट एनएसलमा डेब्यु गरेको झापा लगातार दोस्रो हारबाट पनि बचेको छ। बराबरीसँगै पोखराले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर पनि गुमायो। पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो।

पहिलो खेलमा इलामसँग १–० ले पराजित भएको झापा दोस्रो खेलमा हारको संघारमा पुगे पनि विदेशी खेलाडी सामान्डरले बचाए। यससँगै एक अंकका साथ झापा सातौं स्थानमा छ। दुई हार सामना गरेको वीरगन्ज युनाइटेड र बुटवल लुम्बिनी एफसी अंकविहीन छन्। त्यसअघि खेलको १८औं मिनेटमा पोखराले अग्रता लिएको थियो।

बक्सबाहिरबाट जो ऐइडोको क्रसमा मोसेस ग्याबा टुमले सुन्दर हेडर गोल गर्दै पोखरालाई अग्रता दिलाए। मोसेसको हेडरले पहिलो बार हुँदै जाली चुम्यो। ३७औं मिनेटमा झापाका छिरिङ लामाको लामो प्रहार पोखराका गोलकिपरले प्रिसो बिट भए पनि गोल हुन सकेन।

लगत्तै एक मिनेटपछि झापाले गोल गर्ने सुन्दर अवसर गुमाउन पुग्यो। लक्ष्मण रुचालले करिब १० यार्ड नजिकबाट गरेको लेफ्ट फुटेट सट पहिलो बार हुँदै बाहिरियो। त्यस क्रममा ह्यान्डबल अपिल गरेका रुचालले रेफ्री प्रज्वल क्षत्रीलाई हातले धकेलेपछि पहेँलो कार्ड सामना गरे। पहिलो हाफको थप समयमा खेल रोमाञ्चक बन्यो। पोखराले लगातार अवसर बनाए पनि गोल गर्न भने सकेन। पोखराका फरवार्ड स्टेफन कोजो पापा खाली पोस्टमा गोल गर्न चुके।

झापाका गोलकिपर स्टेफन सुपिचले पन्च गर्न अगाडि बढेको अवस्थामा रिबाउन्ड बल नियन्त्रणमा लिएका स्टेफनले डी एरियाबाहिरबाट गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो।

 लगत्तै पोखराका पदम भट्टराईको लामो प्रहार स्टेफन सुपिचले सहजै नियन्त्रणमा लिए। त्यससँगै पहिलो हाफमा खेल बराबरी भयो। ५६औं मिनेटमा अञ्जन विष्टको हेडर पोखराका गोलकिपर प्रिसो एनजांगाले बचाए। बक्सबाहिरबाट मिडफिल्डर प्रदीप लामाको क्रसमा फरवार्ड अञ्जनको हेडर प्रिसोले बचाए। हेडरका दौरान विपक्षी रक्षक पदम विष्टसँग टाउको ठोक्किँदा अञ्जन मैदानमै ढले।

तर, मेडिकल टोलीको सहायतामा उनी सात मिनेटपछि मैदान खेलमा फर्किए। तर, केही समयपछि उनी मैदानबाट बाहिरिए। ७०औं मिनेटमा अञ्जनलाई समिराज थोकरले प्रतिस्थापन गरे। ७२औं मिनेटमा फरवार्ड जोर्ज सान्चेजको प्रहार बाहिरिँदा पोखराको खतरा टर्‍यो।

नियमित स्थानभन्दा केही अगाडि आएका प्रिसोलाई बिट गर्न ४० यार्डबाट जोर्जले गरेको प्रहार बाहिरिन पुग्यो। ८१औं मिनेटमा मोसेसले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन्। बक्सभित्र कुनै पनि खेलाडीबाट बाधा नपुर्‍याइएका मोसेसले स्तरीय प्रहार गर्न सकेनन्। उनको फितलो प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले बचाए। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा पोखरा १० खेलाडीमा सीमित भयो।

प्रकाशित: १७ मंसिर २०८० ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App