१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

३७ सय मिटर उचाइमा आईटिएफ तेक्वान्दो

उपल्लो जलजला हाई अल्टिच्यूड खेलकुदका लागि प्रचुर सम्भावना

तस्बिर: म्याग्दीको धवलागिरि गाउँपालिका–२,लुलाङको उपल्लो जलजलामा आयोजित कार्यक्रम।

म्याग्दीको धवलागिरि गाउँपालिका–२,लुलाङको उपल्लो जलजलामा हाई अल्टिच्यूड खेलकुदका लागि अधिक सम्भावना रहेको छ।

गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलो पटक आयोजित तिन दिने ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ मा समथर भूभाग र नजिकै हिमशृङ्खला देखिने माथिल्लो जलजला उच्च क्षेत्रमा आयोजना हुने खेलकुद गतिविधिका लागि प्रशस्तै सम्भावना रहेको बताइएको थियो।

समुन्द्री सतहदेखि करिब ३७ सय मिटर उचाइमा रहेको उक्त स्थानमा विभिन्न खेलकुद गतिविधि सञ्चालनको उच्च सम्भावनाका बारेमा चर्चा र पूर्वाधार विकासमा समेत ध्यानाकर्षण गराउने उद्देश्यले गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय र ढोरपाटन नगरपालिकाको सहयोगमा सेमिनार गरिएको थियो।

शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन भएको सेमिनारमा बागलुङका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले हाई अल्टिच्यूड खेलकुदका लागि जलजला क्षेत्रलाई ट्रेनिङ सेन्टर बनाउन सकिए गण्डकी प्रदेशकै खेल जगतको गौरव हुने बताए। पहिलो पटक हाई अल्टिच्यूडमा गरिएको सेमिनारले खेलाडीमा आत्मबल बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सघाएको अध्यक्षद्धय बुढा र गर्बुजाको भनाइ छ।

नेपालकै एक मात्रै आरक्ष केन्द्र ढोरपाटनको प्रवर्द्धन र खेलाडीहरूमा विभिन्न प्राविधिक ज्ञान हासिल गर्न सकिने स्थान भएकाले पूर्वाधार विस्तारमा तिनै तहका सरकारको संलग्नता आवश्यक रहेको बताइएको थियो। सेमिनारमा मार्सल आर्टका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पे सियल टेक्निक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको आईटिएफ गण्डकीका सचिव प्रतिक घर्ती मगरले बताए। नेपाल आईटिएफ तेक्वान्दो महासंघका महासचिव तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले यस पटकको सेमिनारले उपल्लो जलजला क्षेत्रको सम्भावनालाई प्रचारप्रसार गरेको बताए। उपल्लो जलजलाबाट  म्याग्दीमा पर्ने पुथा, चुरे, गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरी हिमाल लगायतका हिमशृङ्खला सहितको प्राकृतिक दृष्यको समेत अवलोकन गर्न पाइन्छ। 

प्रकाशित: ११ मंसिर २०८० ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App