२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट: सानदार जितसँगै बागमती सेमिफाइनलमा

प्लेयर अफ दि म्याच घोषित बागमतीका इशान पाण्डे। तस्बिरः उमेश पुन/नागरिक

रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।

पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो। ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे।

५९ बल खेल्ने क्रममा गौतमले १० चौका र २ छक्का हिर्काउँदै ८२ रनमा आउट भए। अघिल्लो दिन डकआउट भएका पाण्डेले दोस्रो दिन भने अर्जुन चनराको बलमा आउट हुनु अघि ३८ बल खेल्दै ७० रनको पारी खेले। उनको व्याटबाट चार चौका र छ छक्का निस्कियो। दुवैले दोस्रो विकेटको लागि १४३ रनको साझेदारी गरेका थिए। प्रतिश जिसी भने १२ रनमा नटआउट रहे। दिनेश अधिकारीले ३ विकेट लिए। कर्णालीले शुक्रबार बागमतीसँगको प्रतिस्पर्धामा निकै फितलो फिल्डिङ गर्यो। हातमै आएको क्याचलाई समेत फुत्काएर जीवनदान दिएपछि कर्णालीले स्कोर बोर्डमा विशाल लक्ष्य देख्नुपर्यो।

जवाफी व्याटिङ थालेको कर्णाली भने ९९ रनमा अलआउट हुन पुग्यो। सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य पछ्याउन निकै सकस भएको थियो। ३.३ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ४ विकेट लिए। ओपनर एवं कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रनमा इशान पाण्डेको बलमा सन्दीप लामिछानेको हातबाट क्याच भए।

अर्का ओपनर अर्जुन घर्ती पनि २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा पभेलियन फर्किए। सन्दीप लामिछानेको बलमा विकेट किपरले स्टम्पिङ आउट गरे। विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे। केवल १७.३ ओभर मात्रै खेलेको कर्णालीका सातजना व्याटर भने दोहोरो रनका आँकडाबाट बन्चित भए। बागमतीका दिपेश श्रेष्ठले २ विकेट लिए। एक विकेट समेत लिएका बागमतीका इशान पाण्डे प्लेयर अफ दि म्याच घोषित भए।  

प्रकाशित: ८ मंसिर २०८० ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App