१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

चारदेशीय शृंखला इन्दुका लागि परीक्षा

अपर्याप्त तयारीबीच नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङमा आयोजना हुने चारदेशीय ट्वान्टी-२० शृंखलामा होमिएको छ।

नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी-२० शृंखला खेल्दै छ। त्यसका लागि नेपालले एक हप्ता मात्र प्रशिक्षण गरेको थियो। नेपाली टोलीका लागि शनिबार मात्र प्रशिक्षक नियुक्त भएकाले तयारी प्रभावकारी भएको छैन। यद्यपि, नेपालकी नवनियुक्त कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।

त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्‍यो। सो अवसरमा पत्रकारसँगको कुुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्ना लागि समेत अवसरका रूपमा लिएको शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी हुन्। ११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुबिनालाई हटाउँदै क्यानले यसै साता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो।

इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ। कप्तान इन्दुले पनि यसलाई चुनौतीको रूपमा लिएको बताएकी छिन्। पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन्। कप्तान इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन्।

नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो। पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन्। नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन्।

शनिबार क्यानले मूलपानीस्थित मुख्यालयमा टोलीको बिदाइ गरेको हो। क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीको बिदाइ गरेका थिए।

 क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए। साथै उनले पुरुष टोलीले झैं सानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे। क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ। कप्तान र उपकप्तान चयनका साथै खेलाडी छनोटका विषयमा महिला खेलाडीहरूले निकै असन्तुष्टि पोखिरहेका छन्।

पछिल्ला समय नियमित रूपमा अप्सरी बेगम र कविता जोशीले छनोटमा राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेपछि सिनियर खेलाडीहरू क्यानप्रति असन्तुष्ट देखिएको बताइएको छ।

नेपाली टोलीमा पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार परेका छन्। कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन्।

शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन्। शृंखलाको पहिलो खेलमा नेपालले तान्जानियाको सामना गर्ने भएको छ। नेपाल र तान्जानिया बीचको खेल कात्तिक २९ मा हुनेछ। नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ। तान्जानिया र जापान नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन्।

प्रकाशित: २६ कार्तिक २०८० ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App