२ असार २०८१ आइतबार
image/svg+xml
खेल

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा, ओमानसँग छनोटको फाइनलमा बदला लिने लक्ष्य

तस्बिर: राजिव खत्री/नागरिक

नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई )लाई आठ विकेटले हराउँदै नेपालले उपाधि यात्रा तय गरेसँगै विश्वकपमा स्थान बनाएको हो।

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।

पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको नेपालले अब सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछ। १३५ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा पूरा ग¥यो।  

नेपालको जितमा आसिफ शेखले ६३ रन र रोहितकुमार पौडेल ३५ रनमा अविजित रहँदै जित दिलाए। आसिफले ५० बलमा ६ चौका र दुई छक्का हिर्काए। रोहितले २१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे। सुरुदेखि इनिङ समालेका आसिफले करियरको चौथो अर्धसतक प्रहार गरेका थिए। त्यसअघि सामान्य लक्ष्य पछ्याएको नेपालले तेसो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले २२ रन जोड्दै आसिफलाई साथ दिए।

उनले यस क्रममा आसिफसँग ४१ रनको साझेदारी गरेका थिए। तर, ९.३ ओभरमा बसिल हामिदले उनलाई आउट गर्दै साझेदारी तोडे। गुल्सनले २४ बलमा तीन चौका हिर्काए। तर, तेस्रो विकेटका लागि आसिफले कप्तान रोहित पौडेलसँग ६८ रनको साझेदारी गर्र्दै १७ बल अगावै जित निकाले। यसससँगै नेपालले सन् २०२१ मा युएईमा नै भएको ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग नै बेहोरेको हारको बदला लियो। यो हारसँगै नेपाल विश्वकपमा छनोट असफल भएको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले राम्रो सुरुआत गरे पनि नेपाली बलरले लयमा फर्कंदै पाहुना टोलीलाई सस्तैमा रोके। युएईले निर्धारित २० ओधरमा ९ विकेट गुमाउँदै १३४ रनको मध्यम योगफल बनाए। युवा ब्याटर भ्रित्य अरविन्दले ६४ रन जोड्दै युएईको इनिङ समालेका थिए। कुशल मल्लको बलमा आउट हुनुअघि उनले आठ चौका र दुई छक्का प्रहार गरे। त्यसअघि पावर प्लेमा युएईले दुई विकेट गुमाए पनि ४१ रन जोडेको थियो। चौथो ओभरमा नै नेपालले कप्तान मोहम्मद वासिम र खलिद साहलाई आउट गरेको थियो।

सोमपाल कामीले एक छेउबाट आक्रामक ब्याटिङ गरेका ओपनर वासिमलाई २६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यसअघि पहिलो बलमा साह ३ रनमा रनआउट भएका थिए। तर, तेस्रो विकेटका लागि अरविन्दले अर्का अनुभवी ब्याटर आसिफ खानसँग ३२ रनको साझेदारी गर्दै इनिङ उकासे। तर, ९.६ ओभरमा सन्दीपले आसिफलाई १३ रन एलबिडब्लु आउट गर्दै तेस्रो सफलता दिलाए। त्यसपछि आएका अलिसान सरफुले १६ रन जोडे।

तर, त्यसबाहेक ब्याटरले अरविन्दलाई साथ दिएन। सन्दीप लामिछाने र कशुल मल्लले विकेटसँगै किफायती बलिङ गरे। यी दुईले अन्तिम तीन ओभरमा उत्कृष्ट बलिङ गरे। सन्दीपले १८औं ओभरमा एक विकेटसँगै मेडन राखे। २०औं ओभरमा कुशलले दुई विकेटसँगै पाँच रन दिए। त्यससँगै युएई राम्रो योगफल बनाउनबाट रोकिए। समग्रमा उनले तीन ओभरमा तीन विकेट लिँदा ११ रन खर्चिए। सन्दीपले चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा १४ रन खर्चिए। सन्दीप प्लेयर अफ दी म्याचसमेत भए। सोमपाल र रोहितको नाममा एक विकेट रह्यो। तीन ओभरमा तीन विकेट लिँदै ११ रन मात्र खर्चिए।

प्रकाशित: १७ कार्तिक २०८० ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App