१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पदक विजेता पलेशालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाई दिएका छन् ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच बधाई दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाई दिएका थिए । दुई साताअघि चौथो एसियाली पारा खेलकुदमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो ।

भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो । पलेशालाई बधाई दिँदै प्रधानमन्त्री दाहालले आगामी एसियाली खेलकुदमा अभैm योभन्दा ठूला सफलता प्राप्त गर्न शुभकामना दिए । खेलकुदमन्त्री लिम्बुले यस पटक नेपालले एसियाली खेलकुद यादगार बनाउन सकेकोमा खुसी व्यक्त गरे ।  

राखेप सदस्यसचिव घिसिङले ऐतिहासिक सफलता प्राप्त गरेकी खेलाडीलाई थप प्रोत्साहित गर्न देशका कार्यकारी प्रमुखले बधाई कार्यक्रम आयोजना गर्नुभएको बताए । पलेशाले यो पदक जितेबापत सरकारबाट १३ लाख रूपैयाँ पाउनेछिन् । यसअघि एसियाली खेलकुदमा कांस्य पदक जित्ने खेलाडीले १० लाख रूपैयाँ पाउने व्यवस्था भए पनि राष्ट्रिय खेलकुद विकास नियमावालीले सो पुरस्कार रकममा ३० प्रतिशतले वृद्धि गरेको हो ।  

प्रकाशित: १६ कार्तिक २०८० ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App